सरकार जिम्मेवार नभए भोलि संसद बैठकमा मुठभेड हुनसक्ने गगन थापाको चेतावनी

253

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद थापाले चिकित्सा शिक्षा विद्येयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको पनि गुनासो पोखे । उनले भने,‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ । सभामुख सदनमा आउनुपुर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँ दलमा आवद्धता रहनुहुन्न र रहँदैन भन्ने कुरालाई सँधैभरि हामीले अपेक्षा गर्दछौं । तर, दुःखका साथ भन्नुपर्छ सम्मानीय सभामुखको भुमिकाबाट हामीले यो कुरालाई महशुस गर्न पाईरहेका छैनौं ।’

उनले चिकित्सा शिक्षा विद्येयक अरु विद्येयकभन्दा फरक विद्येयक भएको उल्लेख गरे । थापाले भने,‘जुन विद्येयक अनशनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसकेपछाडि सदन चलेको बेलामा, माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होईन, प्रश्न यहाँ संसदको पनि हो ।

’भोलि माघ ११ गतेको संसद बैठकभन्दा अगाडि सभामुखले आफूहरुलाई बोलाएर छलफल गर्ने भन्ने अपेक्षा आफूहरुको रहेको पनि थापाले सुनाए । उनले थपे,‘अस्तिको घट्ना जुन संसदभित्र भएको छ, त्यो भएको घट्नाप्रति उहाँले सदनभित्रका अमर्यादित घट्नालाई अब नदोहोरिने परिस्थितिका बारेमा हामीलाई आश्वस्त पार्नुहुन्छ । सरकारले पनि हामीसँग छलफल गर्छ । एउटा नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने हामीलाई अझैपनि अपेक्षा छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here