एजेन्सी/भेनेजुएला विपक्षी नेता हुँआ गुएडोँले आफूलाई अन्तरिम राष्ट्रपतिका रूपमा स्वघोषणा गरेलगत्तै अमेरिका र अन्य ल्याटिन अमेरिकी सरकारहरूको समर्थन रह्यो । घोषणापछि ल्याटिन अमेरिकी राष्ट्रहरूलाई अमेरिकाको सहमति पछाडि ल्याउन हप्तौँ लामो गोप्य कूटनीति भएको थियो । जसको शुरुवात मध्य डिसेम्बरमा नै भएको थियो । उबेला गुएडोँ गोप्य रूपमा वासिङ्टन, कोलम्बिया र ब्राजिलको भ्रमणमा गए । उनले त्यहाँका अधिकारीहरूलाई विपक्षीहरूले गर्न लागेको आम विरोधको रणनीतिको योजना बनाए । विपक्षीहरूले जनवरी १० मा हुन लागेको मदुरोको दोस्रो कार्याकालको शपथ वरिपरि विरोध प्रदर्शन चर्काउन लागेका थिए ।
यो जानकारी निर्वासित जीवन बिताइरहेका काराकासका पूर्वमेयर र विपक्षी गठबन्धका सहयात्री एन्टोनियो लेडेज्माले दिएका हुन् । गुएडोँले विदेश जाँदा विपक्षी नेताहरूमाथि आप्रवासन अधिकारीहरूबाट हुने केरकारबाट बच्नका लागि भेनेजुएला र कोलम्बिया सिमानामा गस्ती नहुने भागबाट विदेश लागेका थिए । उक्त समय सरकार विरोधी पार्टीहरू विभाजित थिए । त्यसैले उनीहरूबीच आम सहमति निर्माण गर्नु सबैभन्दा कठिन कार्य रह्यो । विपक्षीहरू वर्षौंदेखि अहम् र रणनीतिका कारणले विभाजित थिए । सरकारले गरेको धरपकडले गर्दा कैयौँ प्रमुख नेताहरूलाई विदेश निर्वासन रहन बाध्य पारेकाले उनीहरूबीच प्रत्यक्ष भेट गाह्रो हुन्थ्यो । भेनेजुएलाभित्र नै रहेकामाथि पनि गुप्तचरद्वारा कडा निगरानी हुन्थ्यो । विपक्षी नेताहरूका अनुसार गुप्तचरहरूबाट बच्नका लागि ‘इन्क्रिप्टेट टेक्स्ट म्यासेज’हरूका लामा लामा सेसनहरू नियमित हुन्थ्यो । एक अमेरिकी अधिकारीले सुरक्षा चासोलाई देखाएर गोप्यताको सर्तमा बताएअनुसार गुएडोँका राजनीतिक गुरु र शक्तिशाली विपक्षी नेता लियोपाल्डो लोपेजसम्म सन्देश पुर्याउन मध्यस्थकर्ताहरू प्रयोग गरिएका थिए । लियोपाल्डो सन् २०१४ मा मदुरोविरुद्ध आम विरोध गर्ने प्रयास गर्दा पक्राउ परे यता नजरबन्दमा छन् ।
लिमा ग्रुपका एक ल्याटिन अमेरिकी कूटनीतिज्ञले बताएअनुसार गुएडोँले कोलम्बियाको राजधानीमा भएको वार्तामा आफूले जनवरी २३ को र्यालीमा आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गर्र्ने व्यक्तिगत प्रतिबद्धता जनाएको भए पनि अन्तिम घडीसम्म यसमा शंसय थियो । जनवरी २३ मा सन् १९५८ मा एक ‘कू’ मार्फत भेनेजुएलामा कायम एक सैन्य तानाशाहको अन्त्य भएको थियो । सोही वार्षिकोत्सवमा यो घोषणा गर्ने योजना थियो । भेनेजुएलाका केही नरमपन्थी विपक्षीहरूलाई यी कदमबारे अनभिज्ञ राखिएको थियो । उनीहरू सुस्तरी अघि बढ्नुपर्ने र कडा कदमले विपक्षीहरूको भागमा पुनः असफलता पर्ने डर व्यक्त गरिरहेका थिए । अन्त्यमा त्यो भिन्नतालाई पनि कुनै सार्वजनिक विमतिविना नै आन्तरिक रूपमा सल्ट्याइयो । ‘विपक्षीहरूले कम्तीमा पनि पाँच वर्षमा पहिलो पटक अर्थपूर्ण रूपमा एक ठाउँमा आउने क्षमता देखाएका छन्,’ सार्वजनिक रूपमा बोल्ने अधिकार नभएकाले नाम नलिने सर्तमा एक वरिष्ठ क्यानेडेली अधिकारीहरूले बताए ।
मदुरोलाई सीधै हमला गर्ने पछिल्लो कदम ट्रम्प प्रशासनको बलियो समर्थनको कारणले मात्र सम्भव भएको हो । गुएडोँलाई तत्कालै समर्थन गर्ने ल्याटिन अमेरिकी सरकारहरूमा मुख्य गरेर पछिल्लो समय त्यहाँ शक्तिमा आएका कन्जरभेटिभ सरकारहरू छन् । अमेरिकी मिडियाले धेरै वटा ल्याटिन अमेरिकी सरकारहरू एकै पटक अमेरिकी निर्णयको समर्थनमा आउनुलाई ऐतिहासिक कूटनीतिक सफलता बताइरहेका छन् । निकट विगतमा हेर्ने हो भने यस्तो खालको घटना सन् १९९४ मा देखिएको थियो । त्यो समय हैटीका नेता जिन बरट्रान्ड एरिस्टाइडलाई एक ‘कू’ मार्फत अपदस्त गराइएपछि अमेरिकाले एरिस्टाइडलाई समर्थन गरेको थियो । त्यो बेला धेरैवटा दक्षिण अमेरिकी राष्ट्रहरूले अमेरिकाको कदम पछ्याएका थिए । शित युद्धको समयमा आफूहरूमाथि दमनकारी नीति लिएको अमेरिकामाथि ल्याटिन अमेरिकी देशहरूमा एउटा खालको शंसयको मानसिकता रहने गरेको छ ।पछिल्लो कदमलाई मूर्त रूप दिन पर्दा पछाडि लिमा ग्रुमको सदस्य राष्ट्र क्यानडाका विदेशी मन्त्री च्रिस्टिया फ्रिल्यान्डले प्रमुख भूमिका खेलिन् । उनले मदुरोले दोस्रो कार्यालयका लागि शपथ लिनु अघिल्लो रात गुएडोँसँग टेलिफोन वार्ता गरेकी थिइन् । उनले गुएडोँलाई समाजवादी नेता मदुरोलाई टक्कर दिए आफूहरूको समर्थन गुइएडोमाथि रहने बताएका थिए ।

















