काठमाडौं / स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पत्रकारलाई प्रहरीले हातपात र दुर्व्र्यवहार गरेको घटनाप्रति प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघद्वारा जारी विज्ञप्तिमा आइतबार दिउँसो नेपाल विद्यार्थी संघले निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिँदै गर्दाको तस्बिर तथा भिडियो खिचेको भन्दै हिमशिखर टेलिभिजनका विनोद कट्वाललाई हातपात गर्दै लात्ताले हानेर धकेलेको उल्लेख छ ।
नयाँ पत्रिका दैनिकका अमूल थापा, नागरिक दैनिकका विजय गजमेर, नेपाल समाचारपत्रका उज्वल डंगोल र पहिलो पोष्टका सार्थक रन्जितलाई प्रहरीले दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
‘प्रहरीले कसको अनुमतिमा तस्बिर खिचेको भन्दै पत्रकारलाई हातपात तथा दुर्व्यवहार गरेका छन्’, विज्ञप्तिमा भनिएको छ ।


















