क्षेप्यास्त्र सन्धिबाट बाहिरियो रूस

238

मस्को / रूसले शनिवार मध्यम दूरीको आणविक क्षेप्यास्त्र सन्धि (आईएनएफ) बाट बाहिरिएको घोषणा गरेको छ। अमेरिका उक्त सन्धिबाट पछि हटेको भोलिपल्टै रूसले यस्तो घोषणा गरेको हो।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन्धिबाट पछि हटेको घोषणा गरेका हुन्। शीतयुद्धका बेला हतियारको होडबाजीबाट विश्व असुरक्षित हुने भन्दै दुवै देशले उक्त सन्धिमा हस्ताक्षर गरेका थिए।

पुटिनले सन् १९८७ माच सम्पन्न ‘मध्यम दूरीको मारक क्षमतावाला परमाणु बल सन्धिबारे टिप्पणी गर्दै भने, ‘सन्धिको एक पक्ष अमेरिका सम्झौताबाट पछि हट्ने घोषणा गरेकाले हामी पनि सन्धिबाट पछि हटेका छौं।’

पुटिनले विदेशमन्त्री सर्गेई लाभरोभ एवं रक्षामन्त्री सर्गेई शोइगुसँगको बैठकमा अब रूसले निस्त्रीकरणबारे अमेरिकासँग कुनै वार्ता नगर्ने स्पष्ट पारेका छन्। राष्ट्रपति पुटिनले भने, ‘सन्धिका हाम्रा साझेदारले यस विषयमा समान र सार्थक वार्ता गर्न परिपक्व नभएसम्म हामी पर्खेर बस्नेछौं।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आफ्नो देशले उक्त सन्धि पालना नगर्ने घोषणा गरेका थिए। आईएनएफबाट फिर्ता हुने प्रक्रिया आगामी ६ महिनामा पूरा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्पष्ट पारेका छन्।

शनिबारदेखि लागू हुने गरी अमेरिकाले सन्धिका शर्त र नियम नमान्ने र क्रमशः यसबाट फिर्ता हुने प्रक्रिया थाल्ने घोषणा गरेको हो।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले अमेरिकाले उक्त सन्धिबाट फिर्ता हुनेगरी गरेका निर्णयको पूर्णतया समर्थन गर्ने जनाएको छ। नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेटोमा संलग्न अमेरिका सहयोगी राष्ट्रहरूले आईएनएफबाट फिर्ता हुने निर्णयलाई पूर्णतया समर्थन गर्नेछन्।’

सन्धिबाट फिर्ता हुने अमेरिकी निर्णय बेठीक भएको चीनले जनाएको छ। शनिबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले भने, ‘अमेरिकाद्वारा आईएनएफ सन्धिबाट फिर्ता हुने निर्णयप्रति चीनले असहमति जनाएको छ। अमेरिका र रूसले यसबारे देखिएका आफ्ना भिन्नतालाई रचनात्मक वार्ताका माध्यमबाट सही तरिकाले समाधान गर्नुपर्छ।’

एकतर्फी रूपमा अमेरिकाले गरेको यो निर्णयले शृंखलाबद्ध रूपमा नकारात्मक नतिजा निम्त्याउने सम्भावना रहेको बताउँदै चीनले यसबाट विकसित घटनाक्रमलाई सावधानीपूर्वक पछ्याउने उनले बताए।

रूसले उक्त सन्धिको उल्लंघन गरेको ट्रम्पले आरोप लगाएका थिए। रूसले आफूले सन्धि पालना गर्दै आएको बताएको थियो।

गत महिना रूसले विवादित हतियार प्रणालीका बारेमा जानकारी दिन सञ्चारकर्मी र विदेशी सैन्य अधिकारीलाई आमन्त्रण गरेको थियो। क्षेप्यास्त्र सन्धि नमानी अमेरिकाले हतियार विकसित गरेमा रूसले पनि हतियार विकास गर्ने चेतावनी दिँदै आएका थिए।

क्षेप्यास्त्र सन्धि उल्लंघन गरेपछि अमेरिकाले यूरोपमा क्षेप्यास्त्र विकास र तैनाथ गर्ने बताउँदै रूस त्यसको जवाफ दिन बाध्य हुने पुटिनले धम्की दिएका छन्। कुनै पनि यूरोपेली देशले अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्न अनुमति दिएमा रूसी आक्रमण सहनुपर्ने धम्की दिएका छन्।

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता मिखाइल गोर्बाच्योभले शीतयुद्ध समाप्तिका लागि उक्त सन्धिमा हस्ताक्षर गरेका थिए। उक्त सन्धिअन्तर्गत ५ सय किलोमिटरदेखि ५ हजार ५ सय किलोमिटर दूरीसम्म मार हान्न सक्ने क्षमताको भूमिबाट प्रहार गर्ने क्षेप्यास्त्रमा प्रतिबन्ध लगाइएको थियो।

सन्धिले अमेरिका र उसका मित्रशक्तिमाथि सोभियत संघबाट हुने परमाणु आक्रमणको खतरा अन्त्य भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here