अजयको “एलौरिङ डिभाइन” प्रदर्शनीमा

118

ललितपुर/युवा चित्रकार अजय देशारको एकल चित्रकला प्रदर्शनी “एलौरिङ डिभाइन” प्रदर्शनीमा आएको छ । पाटन संग्राहलय तथा योङ पिकासोद्धारा संयुक्त रुपमा आयोजित उक्त प्रदर्शनीको एक कार्यक्रमकाविच पाटन संग्राहलयमा उद्घाटन भएको हो ।

प्रदेश ३ का सांसद चेतनाथ सञ्जेल, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, पर्यटन बोर्डका बोर्ड सदस्य कृष्ण अर्याल तथा पाटन संग्राहलयका कार्यकारी प्रमुख सन्दिप खनालले क्यानभासमा चित्र कोरी प्रदर्शनीको उद्घाटन गरेका हुन् । संस्कृतिसँग सम्बन्धित हालसम्म चित्रमा नउतारिएका विषयलाई चित्रकार देशारले आफ्ना चित्रको मुख्य विषयबस्तु बनाएका छन् । दुइ दशकदेखी चित्रकलामा सक्रिय चित्रकार देशारको आठौं एकल प्रदर्शनीको रुपमा यो प्रदर्शनी रहेको
छ ।

कार्यक्रममा सम्बोधन गर्दै प्रदेश ३ का सांसद चेतनाथ सञ्जेलले नीतिगत सुधारका लागि कलाकारहरुले राजनीतिक ब्यक्तिहरुलाई समेत बुझाउनुपर्ने बताए । कलाको विकासको लागि आफु सधै सहयोगी भूमिका निर्वाह गर्ने सञ्जेलले प्रतिवद्धता ब्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले नेपालको पर्यटन विकासमा चित्रकलाले समेत महत्वपूर्ण भूमिका खेल्न बताए । राज्यले मनाउन लागेको भिजिट नेपाल २०२० सफल बनाउन कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो ।

पर्यटन बोर्डका सदस्य कृष्ण अर्यालले चित्रकलामा पाइने कथाबस्तुले महत्वपूर्ण भूमिका राख्ने र यसैले व्यावसायिक बनाउन भूमिका खेल्ने बताए । पाटन संग्राहलयका कार्यकारी प्रमुख सन्दिप खनालले भाषाको शुरुवातभन्दा अघिदेखी चित्रको महत्व भएको सन्दर्भ उठाउँदै चित्रले जीवन बोल्ने आशय ब्यक्त गरे ।

त्रिविका लेक्चरर शान्त धाख्वाले कलालाई राजनीतिभन्दा माथि राखेर यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । शिक्षाकर्मी नवराज सञ्जेलले कला विकासका लागि सबैभन्दा महत्वपूर्ण सरकारको कला नीति हुनाले कलासम्बन्धी नीतिलाई स्पष्ट पार्न आग्रह गरे ।

कार्यक्रम संयोजक बाल मुकुन्द आचार्यले कला विषयमा अध्ययन र अनुसन्धानको खाँचो रहेको बताए । प्रदर्शनीमा प्रदर्शित चित्रहरु चित्रकलाले समेट्न नसकेका संस्कृतिका विभिन्न आयामहरुलाई समेटेर कोरिएको कलाकार अजय देशारले बताए ।

कार्यक्रममा चित्रकलामा नसमेटिएका सांस्कृतिक आयाम नामक प्रस्तुतीकरणसमेत गरिएको थियो । आगामी फागुन ५ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा २० वटा चित्रहरु राखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here