सल्यान / सल्यान कारागारका कैदीहरूले प्राविधिक शिक्षा लिने खालको पुस्तकको माग गरेका छन् । कारागारलाइ किताब अभियान उपसमितिसँग उनीहरूले अन्य पुस्तकहरूभन्दा पनि प्राविधिक धारतिरका पुस्तक उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।
‘यहाँबाट सुध्रिएर गएपछि बाहिर गएर केही राम्रो काम गर्न चाहेको खण्डमा प्रविधिक तर्फको शिक्षाले हामीलाइ सहज हुनेछ’, कैदी कमल प्रकाश विकले भने, ‘त्यसैले अन्य किताबका साथै प्राविधिक धारका किताब पनि हामीलाइ आवश्यक छन् ।’ ‘कुनै इलेक्ट्रिक वायरिङ, कम्प्युटर चलाउन सिकाउने, डकर्मी, सिकर्मी, कृषि लगायतका विभिन्न प्रकारका पुस्तक पाएपछि हामीले अध्ययन गर्ने मौका पाउने थियौँ’, उनले थपे, ‘यहाँभित्र प्रेक्टीकल रूपमा अभ्यास गर्न नपाए पनि बाहिर जाँदा एउटा सीप सिकेको मानिस बनेर निस्कन सकिन्थ्यो ।’
कारागारलाई किताब उपसमितिका संयोजक तथा सल्यान प्रहरीप्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले कैदीबन्दीले भनेजस्तै सबै पुस्तक उपलब्ध गराउने जनाएका छन् । अहिलेसम्म केही किताब खरिद भइसकेको र अझै केही किताब खरिद गर्न बाँकी रहेकाले कैदीबन्दीले कस्तो खालको अपेक्षा गरेका छन् भनेर उपसमिति प्रत्यक्ष कारागारमै पुगेर सुझाव संकलन गरेको जनाए ।
सल्यानमा कारागारलाइ किताब अभियानले तीव्रता पाएको छ । कारागारका कैदी बन्दीका लागि किताब संकलन गर्ने क्रम जारी रहेको कारागार किताब संकलन उपसमितिले जनाएको छ । हालसम्म यहाँका स्थानीयतह तथा शुभेच्छुक महानुभावले किताब संकलन गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइरहेको उपसमिति संयोजक तथा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
हालसम्म दुई लाख बढीको किताब खरिद गरिएको उपसमितिले जानकारी दिएको छ । हालसम्म किताब खरिद गर्नका लागि शारदा नगरपालिकाले एक लाख रुपैयाँ, कपुरकोट गाउँपालिकाले ५० हजार रुपैयाँ, शिद्दकुमाख गाउँपालिकाले ४० हजार रुपैयाँ र शारदा नगरपालिका–२ ले १० हजार रकम सहयोग गरेको उपसमितिका उपसंयोजक सोविता बस्नेतले बताएकी छन् । यहाँका सबै स्थानीय तहले किताब खरिद गर्न स्थानीय तहबाट सहयोग रकम उपलब्ध गराउने समेत उपसमितिले जनाएको छ ।
अहिलेसम्म १ हजार १ सय ११ थान किताब संकलन भइसकेको उनले जानकारी दिइन् । उपलब्ध रकमले ७ सय ९९ थान नयाँ किताब खरिद भइसकेका छन भने ३ सय १२ थान पुराना किताब संकलन भएको उपसमितिले जनाएको छ ।
‘कारागारका बन्दीको अर्को संसार कहाँ छ रु त्यो संसार किताबमा छ’ भन्ने उद्देश्यका साथ जिल्लामा कारागारलाई किताब अभियान सुरु भएको जानकारी दिँदै उनले कारागारलाई किताब उपलब्ध गराउन चाहने शुभेच्छुकले जिल्ला प्रहरी कार्यालय सल्यानमा सम्पर्क गर्न सक्ने जनाए ।


















