जनकपुरधाम / गत फागुन २ गते मिथिला नगरपालिका–३ हरीहरपुर, मगर टोलमा मौले कामीको उखुबारीमा नग्न अवस्थामा ११ वर्षीय बालिकाको आधा जलेको बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यो शव स्थानीय देवनारायण रसाइलीकी बोल्न नसक्ने छोरी रेश्मा भनिने दुतिया रसाइलीको रहेको पहिचान परिवारका सदस्यले गरेका थिए ।
रसाइलीको फागुन १ गते राति नै बलात्कारपछि हत्या गरी शव जलाएको अभियोगमा प्रहरीले बटेश्वर–४ बैगाली टोल निवासी २२ वर्षीय निरज जर्गा मगरलाई पक्राउ गरेको छ ।
मगरलाई जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । मगरले बोल्न नसक्ने रेश्मालाई फ्रुटी र चाउचाउको लोभ देखाई फाकाएर उखुबारीमा बलात्कारपछि निर्मम हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।
फागुन १ गते राति इन्द्र थापा मगरकी छोरी मन्दिराको बिहेभोजमा नाच्दै गरेकी रेश्मालाई त्यहीँबाट फकाएर लगेका निरजले बलात्कारपछि हत्या गरेका थिए ।

















