– हुकुमबहादुर सिंह
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना बि.स.२००६ सालमा भयो तर पार्टीभित्र लामो समयसम्म निम्न पुँजीवादी विचारले नकारात्मक असर पार्दै आएको छ । उदाहरणकै स्पमा हेरुः नेपाल अहिले सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक हिसावले कुन अवस्थामा छ भन्ने विषयमा नेपालका कम्युनिष्ट पक्षधर राजनीतिक दल तथा बौद्धिक र नागरिक समाज विभाजित छन् । कसैले यसलाई अर्धनवऔपनिवेशिक, अर्धसामन्ती अवस्थामा रहेको भनेका छन् भने केहीले पुँजीवादी चरणमा प्रवेश गरेको भनिरहेका छन् । यसरी अवहुने क्रान्ति जनवादी वा समाजवादी के हुने भन्नेमा बहस सुरु भएका छन् । तर पनि यहाँ के कुरा स्पष्ट छ भने नेपालमा अझै पनि नेपाली कम्युनिष्ट आन्देलनभित्र निम्न पुँजीपतिवर्गको एउटा ठूलो हिस्सा मौजुद छ, जो नयाँ जनवादी क्रान्ति वा समाजवादी क्रान्ति, दुवैका लागि बाधक रहन्छन् । । यसरी नेपालका कम्युनिष्ट पार्टीहरू यस्तो खालको विशाल तप्काद्वारा घेरिएको मात्रै छैन, बरु पार्टीभित्र पनि सदस्यहरूको अधिकांश हिस्सा निम्न पुँजीपतिवर्गबाट आएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि, खासगरी चीनमा पनि यस्तो खालको तप्का प्रशस्तै पाइन्थ्यो । यसरी यो अपरिहार्य छ कि पार्टीभित्र निम्न पुँजीवादी विचारधारा आफ्ना सबै रूपहरू र आकारहरूमा अक्सर प्रतिबिम्ब हुन्छ ।
नेपाली जनवादी क्रान्तिको एउटा मुख्य शक्ति किसान हो, शहरी निम्न पुँजीपति पनि वर्तमान अवस्थामा क्रान्तिको प्रेरक शक्तिहरूमध्ये एक हो । यो निम्न पुँजीपतिवर्ग जो बिशाल संख्यामा छ, सबै प्रकारका अत्याचारको शिकार हुँदै आएको छ । यो लगातार तीब्र गतिमा गरिबी, दिवालियापन र बेरोजगारीतर्फ धकेलिरहेको छ र आर्थिक, राजनीतिक जनवादको माग उनीहरूका लागि अनिवार्य छ । निम्न पुँजीपतिवर्ग एउटा संक्रमणशील वर्ग हो, त्यसैले यसको चरित्र दोहोरो हुन्छ । यसको असल र क्रान्तिकारी पक्ष भनेको यसले जनवादी क्रान्तिको माग गर्दछ र यसको प्राप्तिका लागि एकजुट हुन र लड्न सक्षम छन् तथा भविश्यमा पनि यिनीहरू सर्वहारासँगै समाजवादतर्फ अग्रसर हुन सक्छन् । तर यसको अर्को पक्ष पनि छ र त्यो भनेको यसको कमजोर र खराब पक्षहो । यो पक्षले उनीहरूलाई सर्वहारावर्गबाट अलग गरिदिने मात्र होइन, बरु जब सर्वहारावर्गको नेतृत्व प्राप्त हुँदैन तब क्याम्प बदलेर उदार पुँजीपतिवर्ग या पुँजीपतिवर्गको प्रभावतर्फ आकर्षित हुन्छन् र तिनैको शरणमा जान्छन् ।
माओले चिनीया क्रान्तिमा सहभागी पार्टीभित्रका निम्न पुँजीवादी चरित्र बोकेका पार्टी क्याडरका समस्यासित जोडिएका प्रश्नहरूलाई तीन आयामहरूमा विश्लेषण गर्नु भएको छ । प्रथम, चिन्तन विधि, दोस्रो राजनीतिक प्रवृति र तेस्रो सांगठनिक जीवन ।
यसरी यी प्रश्नहरूमाथि आधारित तीन आयामको चर्चा गर्दा माओले निम्न पुँजीपतिवर्गको विचारधाराको तीन आयामबारे स्पष्ट पार्नु भएको छ । निम्न पुँजीपतिवर्गको विचारधाराको तीन आयामहरूलाई उहाँले यसरी विभाजन गर्नु भएको छ । विचारधारामा यो मनोगतवादका रूपमा, राजनीतिमा ‘वामपन्थी’ र दक्षिणपन्थी भड्काव र संगठनमा संकीर्णतावादका रूपमा प्रकट हुन्छ । माओले पार्टीभित्र यी सबैमा विजय प्राप्त गर्नका लागि निम्नपुँजीवादी विचारधाराको विश्लेषण गर्न, त्यसमाथि नियन्त्रण गर्न र त्यसलाई सर्वहारा विचारधारामा रूपान्तरित गर्न सही शिक्षण–प्रशिक्षणको पद्धतिको प्रयोग गर्नु आवश्यक हुन्छ भन्नु भएको छ । जसले पार्टीलाई मालेमावादमा पोख्त बनाउन र सर्वहारा र निम्नपुँजीवादी विचारधारमा फरक छुट्याउने क्षमताको विकास गर्न, अन्तरपार्टी जनवादलाई पूर्णरूपले लागू गर्न । गल्ती र त्यसबाट हुने खतराहरूको ठोस बिश्लेषण गर्न एवम् त्यसको ऐतिहासिक तथा विचारधारात्मक स्रोतलाई पहिल्याउन तथा त्यसलाई सुधार्र्ने उपायहरू बुझ्न अनिवार्य छ । माथि उल्लेखित निम्नपुँजीवादी विचारधाराका प्रमुख आयामहरूलाई राम्रोसित बुझेर र तिनमा सुधारका लागि सही शिक्षण–प्रशिक्षणको पद्धतिको प्रयोग गरेर पार्टीलाई सर्वहाराकरणको दिशातर्फ रूपान्तरण गर्न सम्भव छ । – जनधारणा साप्ताहिक


















