काठमाडौं / माओवादी द्वन्दकालमा माओवादीको आक्रमणबाट घाइते भई कम्मरदेखि मुनी नचल्ने अवस्थामा अपाङ्ग बन्न पुगेका नेपाली सेनाका जर्नेल रमिन्द क्षेत्रीलाई सेना दिवसको दिन सैनिक मुख्यालयमै आयोजित कार्यक्रमस्थलमा भेटेर सहानुभूति व्यक्त गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार बिहान अकस्मात समस्या सृजना भएको जनाइएको छ ।
हिजो बिहानै प्रम ओलीलाई शिक्षण अस्पतालमा भर्ना गरिएको छ । नियमित चेक जाँचका लागि भन्दै एका बिहानै हिजो अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीलाई चिकित्सकहरूले भर्ना गर्न सुझाव दिएपछि अस्पताल भर्ना गरिएको हो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रधानमन्त्री निकटस्रोतका अनुसार पछिल्लो समय दौडधूप बढी हुँदा उहाँलाई थकान महसुस हुने समस्या देखिएको थियो । कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।


















