– राज्यलक्ष्मी शाक्य
पछिल्लो समय नेपालमा भ्रष्टाचार निकै ठूलो चूनौतिका रूपमा देखिदै आएको छ । तर यो समस्या भर्खरै उत्पन्न भएको नभएर लामो समयदेखिको समस्या हो । यो समस्याको समाधान गर्छौ भन्दै धेरै राजनीतिज्ञले आफ्नो राजनीतिको रोटी सेक्ने काम गरेका छन् । तर उनीहरूको प्रतिवद्धता र वास्तविकताबीच कहिल्यै मेल खान सकेन । जसको परिणाम मुलुकको अर्थ व्यवस्था जर्र्जर बन्दै मुलुक कंगाल हुने अवस्थामा पुग्न थालेको छ ।
राजनीतिक नेतृत्वमा भ्रष्टाचार अन्त्य गर्ने तत्परता देखिएन बरु नयाँ सपना र प्रतिवद्धतासहित राजनीतिमा सक्रिय हुनेहरूले नै भ्रष्टाचारलाई प्रमुख स्रोत बनाएको देखिदै आएको छ । अर्थात राजनीतिक व्यवस्था परिवर्तन गर्छौँ भन्नेहरूको यसमा झन ठूलो सहभागीता देखिन्छ । राजनीतिक नेतृत्वमा मुलुकप्रतिको जिम्मेवारी महसुस नहुँदा अनियमितता र अकुत आर्जनले झन प्रश्रय पाउँदै गइरहेको देखिन्छ । यस्तो गम्भीर विषयको समिक्षा र नियन्त्रणका लागि कतैबाट पनि पहल भएको देखिदैन । जसले गर्दा राज्यकोषको दोहन सामान्य जस्तै बनिरहेको छ ।
सामान्यत राजनीतिलाई देश र जनताको सेवा गर्न माध्यमका रूपमा हेरिन्छ । तर देश र जनताको सेवाका लागि राजनीति गछौँ भन्नेहरूको जीवनशैलीमा रातारात देखिएको परिवर्तनले राजनीति विशुद्ध आम्दानी गर्ने माध्यम बनेको छ ।
नेपालको राजनीतिक नेतृत्वमा देखिएको सबैभन्दा ठूलो समस्या भनेको अकुत आर्जन हो । जनताका अपेक्षालाई पुरा गर्नुभन्दा पनि मुलुकलाई डुबाएरै भएपनि आर्थिक लाभ लिन तयार हुने नेतृत्वका कारण मुलुक टाट पल्टिने अवस्थामा पुग्न थालेको छ । राज्यकोषको दुरूपयोग गरेर वा अन्य गैर कानुनी ढंगले धन आर्जन गर्नेहरूले त्यो धनलाई लुकाउनका लागि विदेशी बैंकको प्रयोग गर्ने परिपाटी पनि पछिल्लो समय बढ्दै गएको देख्न सकिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक भन्दै आएको कुरा भनेको आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने हो । ओलीले सरकारको नेतृत्व गरेको एक वर्ष भन्दा पनि बढी समय भएको छ । त्यस अवधिमा भ्रष्टाचार कति नियन्त्रण भयो ? उनको प्रतिवद्धता कति कार्यान्वयनमा आयो ? भन्ने कुरा सबै भन्दा बढी प्रम ओलीलाई नै थाहा छ । तर आम जनताले भने ओलीले गरेका प्रतिवद्धतालाई कतै महसुस गर्न सकेको देखिदैन । विशेष गरी भ्रष्टाचार नियन्त्रणका लागि ओलीले पटक पटक गर्दै आएको प्रतिवद्धताको कार्यान्वयनको अवस्था शुन्य जस्तै देखिन्छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेका निकायको महत्वपूर्ण पदमा बसेकै व्यक्तिहरूबाट भ्रष्टाचार र अनियमितता हुँदा सरकार मुकदर्शक बन्नु यसको सबैभन्दा ठूलो उदाहरण हो । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति लिन्छु भन्ने प्रतिवद्धता जनाएका प्रधानमन्त्री र सरकार किन एक्सनमा उत्रन सकेको छैन ? यसले प्रधानमन्त्री र उनले नेतृत्व गरेको सरकारमाथि प्रश्न त उठाएको छ नै त्यससँगै चरित्रको हिसाबले पनि उनको यो मौनताप्रति थप आशंका पैदा गरेको छ ।
प्रधानमन्त्री ओलीले हरेक जस्तो कार्यक्रममा बोल्ने क्रममा निकै चरित्रवान र सुशासनका बारेमा वकालत गर्ने गर्छन् । उनको आफ्नै अगाडि ३३ किलो सुनकाण्ड, वाइड बडी विमान खरिद काण्ड हुँदै अख्तियार आयुक्त राजनारायण पाठक काण्ड घटदा समेत उनी किन कारबाहीमा उत्रन सक्दैनन् ? यसले उनको कार्यशैली मात्र नभएर उनको चरित्रमाथि समेत प्रश्न उठाउने अवस्था सिर्जना गरिदिएको हो ।
प्रधानमन्त्री ओली र उनले नेतृत्व गरेको सरकारबाट आम जनताले मात्र नभएर वौद्धिक सर्कल, नीजि क्षेत्र एवं सबै तह र तप्काले ठूलो अपेक्षा गरेका छन् । तर प्रधानमन्त्री ओली भने व्यवहारमा भन्दा पनि वाक कलामा मात्र आफूलाई अब्बल गर्ने प्रयासमालागि रहेका छन् । यसले उनको ‘सुखी नेपाली र समृद्ध नेपाल’ को सपनालाई पुरा गर्न सक्दैन । जतिबेला आम जनताको भरोसा सरकारप्रति बलियो बनेर जान्छ त्यतिबेला मात्र जनताको मनमा खुसी छाउँछ र मुलुक समृद्ध हुनका लागि जनतालाई खुसी बनाएर उनीहरूबाटै काम लिनसक्ने अवस्था सिर्जना गर्नुपर्छ ।
अहिले मुुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, घुसखोरी तथा दलालीका घटनालाई नियन्त्रण नगरेसम्म प्रधानमन्त्रीको सपना पुरा हुन सक्दैन । जनताका आम अपेक्षालाई सम्बोधन गर्न सक्ने हो भने प्रधानमन्त्रीको आलोचना गरिहनुपर्ने अवस्था सिर्जना हुँदैनथ्यो । अर्काे तर्फ प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि ठूला र महत्वाकांक्षी सपनाहरू देखाइरहनु भएको छ । जनताका अपेक्षालाई पुरा गर्दै जाने क्रममा उहाँले देखेका सपना पनि विकासको सिद्धान्त अनुसार पुरा हुँदै जान्छन् । त्यो विकासको नियम पनि हो ।
आफ्नै अगाडि देखिएका जटिल समस्यालाई समाधान गर्न छोडेर प्राथमिकतालाई अन्यत्रै मोड्ने हो भने त्यसको परिणाम निकै नमिठो हुन्छ । त्यसप्रति प्रधानमन्त्री ओलीलाई जानकारी नहोला भनेर कसरी भन्न सकिन्छ र ? हामीले त देखेका कतिपय सुझावलाई लिपिवद्ध गरेर प्रधानमन्त्रीलाई सचेत गराउने हो । त्यसलाई सुझाव सम्झेर आफूलाई सच्याउन सके त्यो उहाँकै भलाईका लागि हुन सक्छ । यसलाई आलोचना सम्झेर दम्भ देखाउनु भयो भने पनि ढिलो छिटो समयले त्यसलाई पुष्टि गर्दै जाने छ । अहिलेलाई यत्ति नै ।[email protected]


















