काठमाडौं / नेपाल इन्भेस्टमेन्ट बैंकले सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा–१ स्थित खरीखोलामा १२औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले उक्त एक्सटेन्सन काउन्टर उद्घाटन गरेका हुन् । उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँवासीमा बचत गर्ने बानी विकास हुनुको साथै वित्तीय साक्षरता पनि अभिवृद्धि हुनेमा जोड दिए ।
बैंकले खुम्बुपासाङ ल्हामुगाउँपालिकाअन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवा प्रदान गरिसकेको र सोही गाउँपालिकाअन्तर्गत वडा–५ नाम्चेमा पनि छिट्टै एक्सटेन्सन काउन्टर खोल्ने तयारी गरेको छ ।
एक्सटेन्सन काउन्टरबाट खुम्बु पासाङल्हामु गाउँपालिका, माप्यदूधकोसी गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाका बासिन्दालाई बैंकिङ कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नुको साथै स्थानीयमा वित्तीय साक्षरता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजस्व संकलन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटीएम तथा ३,७८३ वटा पीओएस मेसिनबाट सेवा दिइरहेको छ ।

















