महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराइ नेपाल फाइनलमा

125

विराटनगर / विराटनगरको शहीद रंगशालामा साफ महिला च्याम्पियनसिपमा फुटबलमा नेपालले श्रीलंकालाई ४—० गोल अन्तरले हराइ फाइनल प्रवेश गरेको छ । नेपालले पहिलो हाफमा १ गोल तथा दोस्रो हाफमा ३ गोल गरेको हो । जसका लागि ४२ औं मिनेटमा पुनम जर्घामगरले पहिलो गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरेका थिए । खेलको सुरुमा नै दबाव कायम राख्दै आक्रामक खेलेको नेपालले १० औ मिनेटमै गोल गर्ने अवसर पाएको थियो । तर अनिता बस्नेतले प्रहार गरेको कर्नर बल कप्तान निरु थापाले हेड गरेको गोल पोष्ट भन्दा माथिबाट बाहिरियो । त्यसैगरी १६ औं मिनेटमा सावित्रा भण्डारीको सशक्त प्रहार श्रीलंकाली गोलकिपर अयोमी विजेरथ्नले बचाइन् । ३५ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । तर गोलको खडेरी तोड्दै पुनम जर्घामगरले सावित्रा भण्डारीको हेड पासमा सुन्दर गोल गरिन् । खेलको दोस्रो हाफमा सुधारात्मक रुपमा उत्कृष्ट प्रदर्शन गरेता पनि नेपालका केही प्रयासलाई श्रीलंकाली गोलरक्षक विजेरथ्नले असफल तुल्याइन् । ५३ औं मिनेटमा सावित्रा भण्डारीको प्रहार पोष्टको नजिकैबाट बाहिरियो । ६० औं मिनेटमा अनिता बस्नेतले लामो राइट फ्यांकबाट प्रहार गरेको बल श्रीलंकाली गोलकिपरले मुस्किलले बचाइन् ।

रोमाञ्चित खेलमा नेपालकी अनिताले गोल गर्न सफल भइन् । उनले ७३ औं मिनेटमा श्रीलंकाली गोलकिपरले क्लियर गरेको बललाई रोकेर प्रहार गरेको बल जाली चुम्न सफल भइन् । ८२ औं मिनेटमा अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै नेपालको अग्रता अझै फराकिलो बनाइन् । प्रतियोगितामा यो उनको तेस्रो गोल हो । तर उनी ८३ औं मिनेटमा वान भर्सेस् वानमा गोल गर्न चुकिन् । खेलको ८६ औं मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै ४–० गोलको अग्रता दिलाइन् । ६५ औं मिनेटमा कप्तान निरु थापाको ठाउँमा मैदान प्रवेश गरेकी उनले प्रतियोगितामा पहिलो गोल गरेकी हुन् । अब उपाधिका लागि भारत र ब‌गलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here