काठमाडौं / अमेरिकी डलरको भाउ सस्तिएको छ । असोज यता नेपाली बजारमा डलरको भाउमा निरन्तर गिरावट आइरहेको छ । यसले गर्दा नेपाली रुपैयाँ मजबुत हुँदै गएको छ ।
नेपाली बजारमा असोज २४ गते डलरको भाउ सार्वधिक महँगो १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको थियो भने हाल नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १ सय ९ रुपैयाँ ३५ पैसा र विक्री दर १ सय ९ रुपैयाँ ९५ पैसा तोकेको छ ।
डलर कमजोर हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्सको भुक्तानी कम हुन्छ । डलरको भाउ घट्नु भनेको नेपाली रुपैयाँ भन्दा डलर कमजोर भएको हो । यसले गर्दा रेमिट्यान्समा कमि आउन सक्छ । तर अर्कोतर्फ मुलुकको आयातको भार कम पर्न जान्छ । नेपाली रुपैयाँको क्रयशक्ति बलियो हुने भएकाले मुद्रास्फीर्ति कम भएर जान्छ । यसको अर्थ उपभोक्ता मूल्य कम भएर जानु हो ।
डलरको भाउ घट्दा विदेशबाट ऋण लिएर लगानी गर्न चाहनेहरुका लागि अवसर हुन्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा कमहुन जान्छ । जसले उपभोग्य वस्तु्को मूल्य घटाउँछ ।
सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा सहज हुन्छ । विदेशमा पढन जाने विद्यार्थीलाई, औषधि उपचारमा जानेहरुलाई, विदेश भ्रमणमा जानेहरुलाई फाइदा पुग्छ ।एकमहिना अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन फेडलाई दबाब दिएपछि फेडले ब्याजदर नबढाउने भएको छ । त्यसैले गर्दा अमेरिकी डलरको माग अन्तर्राष्ट्रिय बजारमै घट्दै गएको हो । जसको असर डलरको मूल्यमा परिरहेको छ ।


















