काठमाडौं / क्रियाशील पत्रकार महिला (WWJ) ले पत्रकारिता क्षेत्रमा धेरै वर्ष योगदान पु¥याउने १५ जना पत्रकार महिलालाई सम्मान गरेको छ ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न मिडियामा आवद्ध क्रियाशील पत्रकार महिलाको संस्था क्रियाशील पत्रकार महिला (WWJ)बाट सम्मानित गरिएका पत्रकार महिलालाई रााष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले सल र खादा ओडाएर सम्मानित गर्नुभएको हो ।
सम्मानित हुनु भएका पत्रकारमा अछरी पोखरेल, अन्जना ताम्ली, आरती चटौत, उषा तितिक्षु, निर्मला आचार्य, प्रेमकुमारी पन्त, बबिता बस्नेत, रम्यता लिम्बु, रमा पराजुली, राधा बुढाथोकी, रीता गुरुङ, लिला शाह, संगीता लामा, सरला संग्रौला र हरिकला अधिकारी हुनुहुन्छ ।
अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजना गरिएको उक्त कार्यक्रममा सम्मानित हुने पत्रकार महिलाको प्रोफाइल समेटिएको पुस्तक ‘क्रियाशील पत्रकार महिला’को पनि कार्यक्रममा बिमोचन गरिएको थियो ।
प्रमुख अतिथि दाहालले लामो समय जनप्रतिनिधि नहुँदा पत्रकारले जनप्रतिनिधिको रुपमा काम गरेको बताउँदै हाल संसदमा पनि पत्रकार महिलालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहस शुरु भएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सम्मानित ब्यक्तित्वमध्येबाट नेपालगञ्जकी पत्रकार अक्षरी पोखरेल, घटना र बिचारकी सम्पादक बबिता बस्नेत र पत्रकार रम्येता लिम्बुले पुस्तकले आगामी पुस्तालाई समेत यस क्षेत्रमा लाग्न प्रेरणा दिने धारणा व्यक्त गर्नुभयो ।
ओपन सोसाइटी फाउन्डेसनको सहयोगमा प्रकाशित उक्त पुस्तकको लेखन निर्मला आचार्य र सम्पादन संगीता लामाले गरेका हुन् । पुस्तक प्रकाशनको संयोजक एवं WWJ की अध्यक्ष अमिका राजथलाले पुस्तक प्रकाशन गरिएको र यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने जनाउनुभयो ।
कार्यक्रममा अतिथिहरु नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट, राष्ट्रियसमाचार समितिका महाप्रवन्धक ओपेन्द्र शर्मा , नेपाल प्रेस काउन्सीलका प्रमुख अधिकृत झबिन्द्र भुषाललगायतले सम्मानित ब्यक्तित्वलाई बधाई दिनुको साथै सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा सम्मानित हुने पत्रकार महिलाको प्रोफाइल समेटिएको पुस्तक ‘क्रियाशील पत्रकार महिला’ पुस्तकको अंग्रेजी संस्करण ‘वर्किङ विमेन जर्न्लिष्ट’ विमोचन गरिएको थियो ।


















