मेलाम्चीमा भ्रष्टाचार प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु : मन्त्री मगर

242

काठमाडौं / विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मंगलबार अख्त्यिारमा उजुरी दर्ता गरेपछि खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनालाई हतियार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छिन्।

मन्त्री मगरले बुधबार विज्ञप्ति जारी गरी आफूविरुद्ध आधारहीन, विनाप्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको दावी गरेकी हुन्।मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै नेतृ रञ्जु दर्शनाले उजुरी गरेपछि मन्त्रीको प्रतिक्रिया आएको हो।

आफ्नो कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकांश काम सम्पन्न भएपनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सीएमसीले केही महिना पहिले हात झिक्दा समस्या आएको मन्त्रीको प्रष्टोक्ति छ।

ठेकेदार कम्पनी आर्थिक रुपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको जानकारी आएको भन्दै उनले आयोजना निर्माणको मान्यता विपरित गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्था समेत नभएको उल्लेख गरेकी छन्।

आयोजनाको कुनै प्रस्ताव मन्त्रिपरिषदमा लैजाने परिस्थितिमा मात्र मन्त्री जिम्मेवार हुने भन्दै बिना प्रसंग आफूलाई उक्त प्रकरणमा मुछिएको उनको भनाई छ।

‘मेलम्ची आयोजनामा अनियमितता गरेको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु। यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ?’, उनले विज्ञप्तिमा प्रश्न गरेकी छन्।

मेलम्ची खानेपानी आयोजनालाई आफू र आफ्नो परिवारमाथि आक्रमण गर्ने राजनीतिक हतियार बनाइएको उनको गुनासो छ।

विज्ञप्तिः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here