– निशा तामाङ
प्रेस जगतलाई अनुशासनको दायरामा राख्न कुनैपनि देशको सरकारलाई चासो हुने गरेको देखिन्छ । प्रेसको भूमिका कति महत्वपूर्ण छ भन्ने कुरा यसैबाट थाहा हुन्छ । प्रेसले लोककल्याणकारी राज्यको परिकल्पना गर्नुपर्दछ । देशमा लोककल्याणकारी सरकार हुने हो भने प्रेस आफै अनुशासनमा रहन बाध्य हुन्छ । लोकको कल्याणको निम्ति सरकारले काम गर्ने हो भने प्रेसले सरकारको विरोध गर्ने ठाउँ नै रहँदैन । त्यसैले प्रेस जगतको अनुशासन राज्य संचालकहरूको कार्यशैलीमा निर्भर रहने कुरा निर्विवाद छ ।
राज्यको चौथो अङ्गको रूपमा स्वीकारिएको प्रेस भन्नाले सत्य र तथ्य घट्नाहरूमा अधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जनकारी गराउनु हो । तर अहिले सबैको हात हातमा मोबाइल हुनाले र प्रविधिको सहज पहुँच हुुनाले छापा पत्रकारिता भन्दा अनलाइन पत्रकारिताको महत्व बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा अहिले नेपाली समाजमा अनलाइन पत्रकारिताले फड्को मारिरहेको अवस्था छ । प्रविधिको सहज पहुँचसँगै फेसबुक, ट्वीटर, यूट्युब जस्ता सामाजिक सञ्जालमा पत्रकारिताको विकास छापा जगतबाट प्रविधिजगतमा रूपान्तरण भइरहेको अवस्था छ । विश्वमा घटेका हरेक घट्नाको जनकारी र विवरण तुरुन्तै बिश्वको जुनसुकै कुनामा भएपनि पाउन सकिने अवस्था छ । पत्रकारिता चाहे जुनसुकै क्षेत्रको होस् पत्रकारितामा राष्ट्रियता, जनपक्षीय र देश विकासको भावना हुन जरुरी छ ।
पछिल्लो समय नेपालमा पत्रकारिता पेसा बदनाम बन्दै गइरहेको अवस्था पनि छ । पत्रकारिताको नाममा राजनीतिक स्वार्थ लिएर पत्रकारिता गर्नेहरू धेरै छन् । सही सूचना सम्प्रेषण गर्ने नभएर भ्रामक सूचना समेत फैलाउनेहरूदेखि कसैको चरित्र हत्या, अमर्यादित भाषाको प्रयोग र आधारहिन समाचारको सम्प्रेषणले सम्मानजनक मानिएको यो पेसा कंलकित हुँदै गइरहेको छ । सम्मानजनक पेसा पत्रकारिता क्षेत्रमा लागेका सबै पत्रकार तथा सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको पक्षमा जनतामा जागरण ल्याउने महत्वपूर्ण जिम्मेवारी हुन आउँछ । त्यसैगरी विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु पनि पत्रकारको आचरण विपरित हुन्छ । समाजमा हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने गरी समाचार सम्प्रेषण पनि गर्नु हुँदैन । पत्रकार तथा सञ्चारमाध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन भनेर पत्रकारलाई आचारसंहितामा रहन राज्यले निर्देशत गरिरहेको पनि पाइन्छ । तर उल्लेखित सबै पत्रकारलाई गर्न नहुने भनि उपदेश गरिएका विषयहरू राज्य संचालकहरूले पनि गर्नु हुँदैन भन्ने चेतना राज्य संचालकहरूमा कसरी विकास गराउने ? यो गम्भीर प्रश्न हो । प्रेसलाई आचारसंहितामा बाँध्न जुन विषयहरूलाई महत्व दिइएको छ ती विषयहरूमा राजनीतिक क्षेत्र पनि आचारसंहितामा बस्नु जरुरी हुन्छ ।
पत्रकार तथा सञ्चारमाध्यमले समाजमा नकारात्मक असर पार्न सक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । गत साता अश्लील भिडियो बनाएको र अश्लील अन्तर्वार्ता गरेको अभियोगमा विवादास्पद मोडल परी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पु¥याउने सामग्री र उत्तेजक यस्ता अन्तरवार्ताले हाम्रो समाजमा कस्तो असर पार्छ भन्ने पत्रकारिता क्षेत्रमा लाग्ने हरेक पत्रकारले सोच्नु पर्ने हुन्छ । तर यो विषय राजनीतिक क्षेत्रमा लागेकाहरूलाई लागू हुने कि नहुने ? राजनीतिक क्षेत्र नै समाजमा आचरण कायम गराउने निकाय हो । अरुलाई आचरण सिकाउनेहरू आफै आचरणमा बस्ने हो भने सबैभन्दा प्रभावकारी त्यही हुन्छ ।
हन त अहिले पत्रकार तथा सञ्चारमाध्यमले वास्तविकताभन्दा अलग देखिने गरी नक्कली वा बनावटी किसिमले अलग–अलग फोटोहरू मिलाउने, छाँटकाँट वा तोडमोड गर्दै अनेक तस्वीर राखेर सामाजिक सञ्जालमा प्रोपोगाण्डा फैलाउने काम गरिरहेका छन् । एउटा समाचारको शिर्षक अरु कुनै राखिदिने र आचारसंहिता उल्लंघन गर्ने अनलाइनहरू सचेत हुन सके प्रविधि क्षेत्रमा पत्रकारिताको महत्व निकै हुने अपेक्षा पनि राज्य संचालकहरूले गरेको देखिन्छ । देशमा राजनीतिक दुष्प्रभाव बढ्नाले पत्रकारिता क्षेत्र धमिलिदैँ गएको छ । राजनीतिक संलग्नता देखाउनाले व्यवसायिक पत्रकारिता ओझेलमा पर्दै गएको छ । पत्रकारितामा भजन पत्रकारिता गर्ने प्रवृति व्यापक छ । यसको अन्त्य राजनीतिक क्षेत्रबाटै हुनुपर्दछ । नेताहरूलाई पत्रकारिताबाट स्तूति किन मनपर्छ ?यो पनि गम्भीर प्रश्न हो । नेताहरूले गलत कामको पनि स्तूति चाहन्छन् र त्यसमा पत्रकार प्रयोगमा आउँछन् भने त्यो जति पीत पत्रकारिता अरु मान्न सकिन्न । नेताहरूको स्तूतिको सवालमा पत्रकारले आचारसंहिता पालन गर्दै दैनिक अभ्यास गर्नसके नेपाली पत्रकारिताले राजनीतिलाई पनि मार्गदर्शन गर्न सक्नेछ । यथार्थमा अचारसंहिता पालना नगरिएको पत्रकारिता अराजक हुन्छ, जसले राजनीतिलाई गलत दिशातर्फ उन्मुख हुन टेवा पु¥याउने निश्चित हुन्छ ।
त्यसैले पत्रकारिताले आफ्नो सञ्चारमाध्यमको चर्चा गराउने उद्वेश्यले असत्य समाचार लेखेर कसैको विरोध जनाउने मात्र होइन । यथार्थमा राज्यको चौथो अङ्गको जिम्मेवारी बुझेर राजनीतिलाई समेत मार्गदर्शन गर्न सक्नु पर्दछ । सत्यमा अधारित रहेर समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो । पत्रकारितामा प्रवाह गर्ने सूचना सत्यतथ्यमा आधारित र देश विकासका निम्ति हरेक क्षेत्रमा रहेको समस्याको समाधानका सुत्र समेत दिनसक्ने हैसियतको हुनु पर्दछ । [email protected]जनधारणा साप्ताहिक


















