– राधा बुढाथोकी मगर
सरकारले भोलि र पर्सि अर्थात् यही चैत १५ र १६ गते काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ । यस्तो सम्मेलन गर्नुभन्दा पहिले देशका उद्योगपति, व्यापारीहरूलाई बोलाएर राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिनु पर्दथ्यो । राष्ट्रिय उद्योगपतिहरूको सुझावसमेतलाई समेटेर अन्तर्राष्ट्रिय लगानी आकर्षित गराउन सरकारले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नु उपयुक्त हुने थियो भन्ने खालका सुझावहरू पनि आइरहेका छन् । सरकारले यो सम्मेलनमा ३१ खर्ब लगानीको ७१ वटा परियोजना प्रस्तुत गर्ने तयारी गरिरहेको बुझिएको छ । सम्मेलनमा करिब ६ सय भन्दा बढीको सहभागिता रहने जनाइएको छ ।
लगानी सम्मेलनसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढ्ने र त्यसले उद्योग व्यवसायको विकाससँगै रोजगारी बढ्ने अपेक्षा सरकारको रहेको छ । सरकाले वैदेशिक लगानी ल्याउनका लागि वाधक बनेका केही कानुनहरू संसोधन गरिसकेको छ भने केही कानुन अझै पनि संशोधनको प्रक्रियामा रहेको जनाइएको छ । बैंदेशिक लगानी आउँदा अर्थतन्त्रसँगै बैंकिङ क्षेत्रलाई पनि राम्रो हुने बैंकरहरूको सुझाव पाइएको छ । नेपालमा विगत तीन वर्षदेखि लगातार रूपमा बैंकहरूले लगानीयोग्य तरलताको समस्या झेलिरहेका छन् । यस्तो अवस्थामा लगानी सम्मेलन र यसपछि भित्रिने वैदेशिक लगानीले नेपालको बैकिङ क्षेत्रमा कस्तो प्रभाव पार्ला भनेर चर्चा पनि सुरु भएको छ ।
राष्ट्रिय योजना अयोगले आगामी पञ्च वर्षिय योजनाको लागि गरेको छलफलमा सरकारको दिगो आर्थिक वृद्धिको लक्ष्यलाई पुरा गर्नको लागि पुर्वाधार लगायतको क्षेत्र, उत्पादन र सेवा क्षेत्रमा पाँच वर्षको अवधिमा करिब ९८ अर्ब लगानी आवश्यक पर्ने जनाएको थियो । नेपालमा रहेका केही बैंक तथा वित्तीय संस्थाहरू बाहेक अधिकांशमा भने अहिले लगानीयोग्य तरलताको अभाव रहेको छ । यही अवस्थामा नेपाल सरकारले लगानी सम्मेलन गर्न लागि रहेको छ । राष्ट्रिय योजना आयोगले प्रक्षेपण गरेको उक्त लगानीको आवश्यकतालाई पुरा गर्ने उपयुक्त माध्यमको रूपमा लगानी सम्मेलनलाई प्रयोग गर्न आवाश्यक देखिन्छ । लगानी सम्मेलनसँगै नेपालमा विदेशी लगानी बढ्ने अपेक्षा धरैले गरेका छन् । लामो समयको राजनीतिक अस्थिरता पछि बनेको स्थीर सरकार तथा लगानीको लागि वाधक बनेका कानुनहरूको संशोधन भएको अवस्थामा यस्तो अपेक्षा सान्दर्भिक पनि देखिन्छ ।
लगानी सम्मेलन पछि नेपालमा वैदेशिक लगानी बढ्नुको साथै बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्ने बैंकिङ विज्ञ डा.गोपाल भट्टले धारणा राखेका छन् । विदेशी लगानीकर्ताले आफुले लगानी गर्ने रकमको केही हिस्सा प्रत्यक्ष वैदेशिक लगानीको रूपमा ल्याउँछन् जुन पैसा बैंकहरूमा जाने हुनाले बैंकहरूको निक्षेप पनि बढ्ने हुन्छ । तर यससँगै लगानी गर्ने परियोजनामा नेपालको पनि आफ्नै लगानी रहने भएकाले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न जान्छ । यतिवेला बैंकहरूको निक्षेप पनि बढ्नु पर्ने हुन्छ । त्यसैको परिणाम स्वरूप बैंक तथा वित्तीय संस्थामा ब्याजदर अझै बढ्न सक्ने डा.भट्टको तर्क छ ।
लगानी सम्मेलनले वैदेशिक लगानीलाई आकर्षित गर्छ जसले गर्दा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आउँछन् भन्ने विश्वास बैंकर्सहरूले गरेका छन् । यसरी विदेशी लगानीकर्ता लगानी गर्न आउँदा उनीहरूले विदेशी मुद्रामा लगानी ल्याउने विश्वास उनीहरूमा छ । यसरी ल्याएको लगानी परियोजनाको कच्चा पदार्थ लगायत विविध सामग्री खरिद गर्न प्रयोग गर्छन्, जसले गर्दा बजारमा नगद प्रवाह बढ्न जाने र नगद प्रवाह बढ्दा निक्षेप पनि वृद्धि हुने बैंकर्सहरूको धारणा छ । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले यस्तो धारणा राखेका छन् । अर्थब्यवस्थाको लागि वैदेशिक लगानी भित्रिने उत्साहजनक विषय भएको उनको तर्क छ । अर्थव्यवस्था राम्रो हुँदा बैकिङ क्षेत्रलाई पनि राम्रो प्रभाव पार्ने उनले जनाए । अर्थतन्त्र बलियो हुँदै जाँदा बैंकिङ क्षेत्रमा पनि लगानीको अवसर बढ्ने कुँवरको धारणा छ । लगानीकर्ताहरूले मेसिनरी लगायत केही बस्तु विदेशबाट ल्याउने भए पनि कच्चा पदार्थ, सिमेन्ट, छड लगायतका बस्तु नेपालमा नै खरिद गर्न तथा नेपाली मजदुर प्रयोग गर्ने हुनाले अर्थतन्त्र चलायमान हुने उनको तर्क छ । समष्टिगत रूपमा भन्नुपर्दा नेपालको अर्थतन्त्र बैंकिङ क्षेत्र र तरलतामा राम्रो तथा सकारात्मक प्रभाव पार्ने उनको धारणा छ । सुरुमा उनीहरूको लगानी तथा इक्वीटी नै आउने हुनाले तरलतामा वृद्ध गर्ने र परियोजना सञ्चालनमा आएपछि निमार्ण सामाग्री खरिद गर्न नेपालको बैंक तथा वित्तीय संस्थाको कर्जा आवश्यक पर्ने भएकाले उक्त अवस्थामा नेपालको बैंकको कर्जादर महँगो भयो अथवा कर्जा पाएनन् भने कतिपय लगानीकर्ताले आफ्नै कम्पनीबाट पनि क्रेडिटमा निमार्ण सामग्री ल्याउने सम्भावना पनि रहने उनको भनाइ छ । ब्याजदर र तरलता सहज भयो भने नेपालकै बैंकबाट कर्जा लिएर काम गर्न सहज वातावरण बन्ने उनको तर्क छ । विदेशी लगानी भित्रिएसँगै अर्थतन्त्र राम्रो हुनुका साथै उपभोक्ताको क्रयशक्ति पनि बढ्ने हुनाले समग्रमा बैंकलाई मात्र नभएर अर्थतन्त्रलाई राम्रो हुने उनको सुझाव छ ।
त्यसैगरी डेभलपमेन्ट बैंकर्स एशोशिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकालले पनि विदेशी लगानी भित्रिनु राम्रो भएको र यसले बैंकिङ क्षेत्रको विकासमा सहयोग पु¥याउने धारणा राखेका छन् । अध्यक्ष ढकालले समग्र अर्थतन्त्रलाई राम्रो गर्ने हुँदा बैंकिङ क्षेत्र पनि त्यसै भित्र पर्ने तर्क गर्छन् । विदेशी लगानी भित्रिदा नगद प्रवाहमा वृद्धि हुने र रोजगारी पनि बढ्ने हुँदा बैंकहरूको पनि व्यवसाय विस्तारमा सहयोग पुग्ने तर्क ढकालको छ । अहिले प्रतिवद्धता गरेको लगानी तत्कालै नआउने हुनाले पनि विस्तारै लगानी आउँदै गर्दा निक्षेप पनि बढ्ने र कर्जाको माग पनि बढ्ने हुन सक्छ । त्यसैले बैंकहरूले पनि निक्षेपको स्रोत बढाउन र लगानी बढाउन सक्षम हुने उनको धारणा रहेको छ ।
समग्रमा लगानी सम्मेलनले परिणाम जेसुकै दिए पछि सरकारले नेपालबाट भइरहेको पुँजी पलायनलाई रोक्न जरुरी देखिन्छ । विदेशी लगानीकर्ता होऊन वा नेपाली लगानीकर्ता नै किन नहोऊन् राजस्व ठगी र पुँजी पलायन सबैभन्दा डरलाग्दो रोग नेपालमा देखिएको छ । नेपालकै चर्चित उद्यमी अर्थात विश्व अर्बपतिको सूचीमा सूचीकृत भएका विनोद चौधरीले नेपालबाट पुँजी बाहिर लगिरहेको तथ्य सार्वजनिक भइसकेकोे छ भने एनसेलको राजस्व ठगी प्रकरण विदेशी लगानीकर्ताको राम्रो उदाहरण प्रष्ट छ । त्यसैले लगानी आउनु मात्र ठूलो कुरा होइन, त्यो लगानी नेपालको हितमा आएको छ वा नेपाललाई अहित पु¥याउने गरी लगानी आकर्षित भएको छ भन्ने नै महत्वपूर्ण विषय हो ।- जनधारणा साप्ताहिक
















