काठमाडौं / काठमाडौंस्थित अमेरिकी दूतावासका कन्सुलरहरुले राजदूत ¥यान्डी बेरीको भावना विपरीत काम गरिरहेको पाइएको छ । राजदूत ¥यान्डी बेरीले अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न वा साझेदारी गर्न अमेरिकी सरकार प्रयत्नरत रहेको भनि एक अन्तर्वार्तामा जनाएका छन् । राजदूत बेरीले नेपालमा राजनीतिक स्थिरतासंगै सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य अमेरिकी लगानीकर्ताको ध्यानाकर्षण गराउने तर्क अमेरिकी सरकार केन्द्रित रहने जनाएका छन् । राजदूत बेरीको यस्तो दाबी विपरीत अमेरिकी कन्सुलरहरुले व्यापारिक प्रयोजनका लागि नेपालमा लगानी गर्न अमेरिकाका साझेदारको खोजी र त्यस खालको सहकार्यका लागि नेपालबाट अमेरिका जान चाहने नेपाली उद्यमीहरुलाई भिषा समेत नदिएर निराश तुल्याउने गरेको पाइएको छ । अमेरिकी साझेदारसंग बैठक समेत तय गरी भिषाको लागि आवेदन गरेका नेपाली उद्यमीलाई अमेरिकी कन्सुलरहरुले भिषा दिन अस्वीकार गरेको गुनासो केही नेपाली उद्यमीहरुबाट प्राप्त भएको छ ।
यता राजदूत ¥यान्डी बेरीले भने अमेरिकी सरकार नियन्त्रित अर्थतन्त्र नभएको दाबी गरेका छन् । ‘अमेरिकाका व्यवसायीहरु मैले आऊ भन्दैमा आउने होइनन् । तिनले नियम कानुन मात्र हेर्ने होइन, ति आफूलाई ग्राह्य हुने गरी देखाइन्छन् कि देखाइन्नन् भनेर पनि विचारछन् । उनीहरुलाई यसको व्याख्या र परिवर्तनको केही खाले सुनिश्चितता पनि चाहिन्छ । तिनले कार्यान्वयन नै हेर्छन् । लगानीकर्ताहरु एउटा सीमासम्म जोखिम मोल्न त तयार हुन्छन् । ’ बेरीले एक अन्तर्वातामा भनेका छन् । राजदूत बेरीको यो भनाइ र गराइमा धेरै अन्तर पाइएको छ र अमेरिकी नीति व्यवहारमा विरोधाभाषपूर्ण देखिन्छ ।
नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध भएको ७३ वर्ष पुगिसकेको छ । यसबीचमा अमेरिकाको लगानी नेपालमा कति आयो ? नेपाली उद्यमीहरुसंग कति जना अमेरिकी उद्यमीहरुले साझेदारीका रुपमा लगानी गरेका छन् भन्ने कुरा तर्फ ध्यान दिने हो भने परिणाम निराशाजनक देखिन्छ । अमेरिकी सरकारको नीति साना मुलुकहरुलाई सहयोग पु¥याउने नभएर आफ्नो अधिनमा राख्ने कुरामा केन्द्रित रहेको देखिन्छ । यो पनि दूतावासको गतिविधिले पुष्टि गर्दछ । अमेरिकी उद्यमीहरुसंग नेपालमा साझेदारी लगानीका निम्ति बिना सम्पर्क हुने कुरा होइन । अमेरिकी लगानीकर्ताहरु नेपालजस्तो मुलुकमा यहाँका उद्यमीहरुसंगको सम्पर्क बिना आउने सम्भावना आशा गर्न सकिने कुरा होइन । अमेरिकी दूतावासमा भिषाको लागि आवेदन दिने तमाम नेपाली उद्यमीहरु अमेरिकी दूतावासका कन्सुलरहरुको संकुचित निर्णयका कारणबाट निराश बनेर फर्किएको पाइएको छ ।
नेपालका केही नेताहरुलाई निर्देशित मार्गमा लगाउने बाहेक अमेरिकी नीति अन्य कुनैपनि सवालमा सहयोगी पाइएको छैन । दक्षिण एसियामा ३० वर्षदेखि काम गर्दै आएका अनुभवी व्यक्तित्व ¥यान्डी बेरी नेपालमा राजदूतको रुपमा कार्यरत रहेको वर्तमान अवस्थामा अमेरिकी कन्सुलरहरुको राजदूतका भावना विपरीतका गतिविधिहरुले अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा अकर्षित गर्ने वातावरण विकसित हुने आशा गर्न नसकिने निष्कर्ष केही उद्यमीहरुको पाइएको छ ।


















