–चन्द्रप्रकाश बानियाँ
दुई चार दशक अघिसम्म काठमाडौंलाई ‘मन्दिरको शहर’ भनेर विश्वले चिन्दथ्यो । बढ्दो जनआवादीले परिस्थिति सदाकाल त्यस्तै रहन दिएन । पछिल्ला तीन दशकमा उपत्यका छिर्ने मानिसहरुको चाप यति बढ्यो कि अब मन्दिर खोज्न ड्रोनक्यामेराको सहारा लिनुपर्ने भैसक्यो । गगनचुम्बी भवनहरुको बीचमा मन्दिरहरु छेलिए । निकै फराकिलो भूक्षेत्रमा अवस्थित पशुपतिपरिशर पनि अब त ससानो हाटबजारजस्तो लाग्न थालिसक्यो । मन्दिरहरुको शहर भनिने काठमाडौं शहरको पुरानो साख नामेट हुने परिस्थितिले उपत्यकाको सांस्कृतिक परिचयलाई समेत ओेझेलमा पार्ने भो । त्यसैले काठमाडौंमाथिको अत्याचार जघन्य अन्याय मात्रै होइन बलात्कार नै हो भन्नु बढ्ता नहोला । बेलैमा काठमाडौ भित्रिने जनसंख्या नियन्त्रण गर्नुपर्ने चेत सत्ताधारीहरुमा पलाइदिएको भए काठमाडौंको सुन्दरता अक्षत र अक्षुण रहन्थ्यो । सानो आवादी व्यवस्थापन गर्न सजिलो हुन्थ्यो । मेलम्चीको पानी पिउनका लागि होइन, सिचाईको लागि प्रयोग हुनसक्थ्यो । विकासको नाममा राष्ट्रिय बजेटको ठूलो हिस्सा एउटै खाल्डोमा खन्याउनुपर्ने विडम्बना उपस्थित हुदैनथ्यो । सुरक्षा, सुविधा, सहुलियत र अवसरको खोजीमा नेपालीहरुलाई काठमाडौैंमा खलियो लागेर थुप्रनुपर्ने वाध्यता आइलाग्दैनथ्यो । काठमाडौंको मौलिक नेवार सभ्यता संस्कृतिलाई यथावत जोगाउन सकेको भए अहिलेको भन्दा दशौंगुणा पर्यटकीय आकर्षणको केन्द्र बन्नेथ्यो । त्यसो हुन सकेन । नागार्जुनको डाँडोबाट हेर्दा पहिलो नजरमै जसरी पृथ्वीनारायण शाह काठमाडौबाट मोहित भएथे त्यसैगरी पछिल्लो कालखण्डमा हिमाल, पहाड, मधेसका नागरिकहरुलाई काठमाडौंले तान्यो । आम नागरिकमा काठमाडौंमाथि कब्जा जमाउने होडवाजी नै चल्यो । नेपालीहरुको त्यही लुछाचुँडीले काठमाडौंलाई कुरुप बनाइदियो । खेतहरु मासिदै गए, गगनचुम्बी भवनहरु ठडिदै गए, मठ मन्दिरहरु भत्किदै गए, मासिदै गए । मन्दिरले चर्चेको जग्गा भूमाफियाहरुको कब्जामा प¥यो । बाँकी बचेका मठ मन्दिरहरु कुनापर्दै गए, ओझेलमा परे । उपेक्षित र अपहेलित बन्दै गए । काठमाडौ अब मन्दिरै मन्दिरको शहर रहेन । मौलिक सभ्यताको नमूना पनि रहेन । सांस्कृतिक परिचय समेत समाप्तप्रायः भैसक्यो ।
मन्दिरै मन्दिरको शहर भनिने काठमाडौंको पुरानो परिचय ओझेलमा पर्दै गयो अथवा जानी जानी आँखा चिम्लिइयो । मठ मन्दिरहरु मासिने मासिइहाले, बचेका पनि कुना परे, छेलिए, लुके । यतिखेरै सुदूरपश्चिमले भने मन्दिरै मन्दिरको प्रदेश बनाउने अभियान सुरु गरेछ ! चालु आर्थिक वर्ष अर्थात प्रदेश सरकारको पहिलोे बजेट ३०० भन्दा बढी नयाँ पुराना मन्दिर निर्माणको लागि विनियोजित गरिएको कुरा सार्वजनिक भएको छ । एकात्मक सत्ताको आँखा दुर दूुर्गममा पर्न सकेन । दुर दूंर्गमका इलाकाहरु उपेक्षित भए । विकास निर्माणको लहर सर्वत्र समानरुपमा चल्ने वातावरण बनेन/बनाइएन । अर्थात काठमाडौंले मोफसललाई न्याय गर्न सकेन । केन्द्रको निगाहमा होइन, स्थानीय आवश्यकताको आधारमा विकास बजेट विनियोजन हुने जनमुखी परम्परा बसाल्नुपर्ने आवश्यकताबोधले मुलुकको प्रशासनिक पुनर्संरचना गरियो । स्थानीय र प्रदेश सरकारहरु बने÷बनाइए । स्थानीय सरकारहरुको हातमा बजेट प¥यो । योजना तर्जुमा र कार्यन्वयन गर्ने अधिकार आयो । प्रदेश सरकारले भने “मन्दिर” लाई प्राथमिक आवश्यकता ठानिदिनु विडम्बना होइन भन्न मिलेन ! काठमाडौंका बग्रेल्ती मठ मन्दिरहरुलाई विकासको उदाहरण मानिएको रहेछ, सायद । केन्द्रिय सत्ताको कञ्जुस्याईका कारणले आफ्नो इलाकामा पर्याप्त मात्रामा मन्दिर बनाउन नसकिएको रहेछ भन्ने बुझाई पो रहेछ ! सुदूरपश्चिमले बुझेको कुरो यही रहेछ भन्नै पर्ने भो !
आधा करोड नेपालीहरु यतिखेर वैदेशिक रोजगारीमा छन् । नेपालीहरुमा वैदेशिक रोजगारीको लत लगाउने कार्य गोर्खाभर्तीको त्रिदेशीय सम्झौताले गरिदिएको हो । त्यसैले रोजगारीको लागि देशको सिमा छिचोल्ने नेपाली बानी नयाँ भने होइन । त्यसमा पनि सुदुरपश्चिम र कर्णाली भेकबाट सालिन्दै मानिसहरु मौसमी रोजगारीका लागि भारततिर लाग्ने पुरानै परम्परा रहिआएको छ । हातपाखुरीमा बलबर्कत हुने लोग्ने मानिसहरुले आधाबर्ष विदेशप्रवासमा बिताउने त्यो परम्परा अहिलेसम्म पनि टुटेको छैन । उसो त स्वयम मुख्यमन्त्री समेत भारतप्रवासको लामो अनुभव सँगालेकै मानिस हुन भनिन्छ । बजेट विनियोजनको ढाँचा हेर्दा भने प्रदेश सरकारको आँखा रोजगारीको समस्यामा पर्दै परेको रहेनछ भन्नुपर्ने हुँदो रहेछ । सुदुरपश्चिमले वेरोजगारीरुपी दीर्घ रोगको पीडाबोध गरेकै रहेनछ कि ? उनै भुक्तभोगी मुख्यमन्त्रीको नेतृत्वमा बनेको प्रदेश सरकारले मन्दिर निर्माणजस्तो नितान्त अनुत्पादक कार्यमा प्रदेश बजेटको निकै ठूलो हिस्सा खर्च गरेको देख्दा सुन्दा ‘माल पाएर के गर्नु, चाल पाए पो काम लाग्छ’ भन्ने जनउक्ति चरितार्थ गरेजस्तो लाग्दो रहेछ ।
स्वतन्त्र भनिए पनि नेपाल भारतप्रभावित मुलुक हो । भारतको राजनीतिक मात्र होइन सांस्कृतिक अतिक्रमणको कालो छाँयाबाट नेपाल मुक्त हुनैनसक्ने गरी छोपिएको छ । पछिल्लोपटक अमेरिकी राष्ट्रपतिले नेपाल स्वतन्त्र मुलुक हो भन्ने कुराको जानकारी नै राख्दा रहेनछन् भन्ने हल्ला सार्वजनिक भएको थियो । वास्तवमा त्यो भनाई लाक्षणिक पो थियो कि ? परिहासको ढाँचामा सत्य कुरा भनिएको पो हो कि ? दक्षिणको सांस्कृतिक अतिक्रमण यति बलियो छ कि वास्तवमा एक्काइसौ शताब्दीसम्म आइपुग्दा नेपालले आफ्नो सम्पूर्ण मौलिकता गुमाइसकेको छ भन्दा फरक पर्दैन । यो मुलुकका जाति, जनजाति, आदिवासीहरु मात्र होइन, शासक जाति भनेर चिनिने खस पनि आक्रान्त छ । बरु राई, लिम्वु, नेवार, तामाङ, मगर, गुरुङ लगायतका जनजातिहरुको रीतिसंस्कृति केही मात्रामा जोगिएको होला, खसको त भाषाबाहेक अरु सबै सभ्यता संस्कृति समाप्त भएको छ । अर्थात नेपाल सिङ्गै हिन्दूकरणको चपेटामा दबिएको छ । हिन्दू शब्दको जन्म जमिनसँग जोडिएको छ, राष्ट्रियतासँग जोडिएको छ । हिन्दूत्वमा गौरवगर्नु त्यही तथ्यलाई आत्मसात गर्नु हो भन्ने कुराको हेक्कासमेत राख्न नसक्ने गरी नेपाली समाज सम्मोहित बनेको छ ।
पछिल्लो कालखण्डमा दक्षिण छिमेकी भारतमा हिन्दूवादी राजनीतिक दल सत्तारुढ रहँदै आएको छ । स्वभावतः त्यसको प्रभावबाट नेपाली मानसिकता मुक्त हुनसक्ने कुरै होइन । कमल थापाहरुको स्वर निकै ठूलो सुनिन थालिनुको कारण त्यही हो । विपी कोइरालाको पार्टी भनेर ख्यातनामा नेपाली काँग्रेसमा हिन्दूत्वको पक्ष बलियो देखिनुको पाश्र्ववर्ती कारण त्यही हो । कम्युनिष्ट पार्टीको जब्बर कम्बल ओढेको नेकपाका नेताकार्यकर्ताहरुले ‘धर्मनिरपेक्षता हाम्रो एजेण्डा थिएन’ भन्न थाल्नुको कारण पनि त्यही हो । उता दक्षिणमा गोरखनाथका पिठाधीश आदित्यनाथ उदाएका छन् । यता जन्मजात विकलाङ्ग आदित्यको चर्चा व्याप्त छ । हिन्दू धर्मले अवतारवादमा विश्वास गर्छ । हिन्दुहरुको मुख्य धार्मिक ग्रन्थ गीताले “सम्भवामि युगे युगे” को शंखघोष गर्छ । त्यसैले देवताहरुको पुनः धर्ति अवतरण हुने कथनमा विश्वास गरिन्छ । दैवी चमत्कारमा विश्वासगर्ने अन्ध आस्थाबाट हिन्दू समाज नराम्रोसँग जकडिएको छ । अघिपछि भाण्ड पंक्षीजस्तै लाग्ने कम्युनिष्ट पार्टीका जुम्ल्याहा अध्यक्षहरु स्वयम बालगुरु आदित्यको महिमामण्डनमा उत्रिन्छन् ! अध्यक्षहरुले सार्वजनिक रुपमै दैवी चमत्कारमा विश्वासको नौटङ्की प्रदर्शन गरिदिएपछि चेला चपेटा अर्थात जुनिएर नेता कार्यकर्ताहरुबाट प्रदेशलाई मन्दिरै मन्दिरले भर्ने अभियान चलाइनु कुन आठौै आश्चर्यको विषय भयो र ? जनधारणा साप्ताहिक

















