एजेन्सी / भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ। उनीमाथि उनकै पूर्व जुनियर असिस्टेन्टले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन्।
प्रधानन्याधीश गोगोईविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा सुनुवाई भयो। शनिबारको बेन्चले प्रधानन्यायाधीशमाथिको आरोपको बारेमा अन्य न्यायाधीश सहितको एक विशेष वेञ्चमा सुनुवाई हुने जनाएको छ।
यस क्रममा प्रधानन्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहको र यसको पछाडी कुनै ठूलो शक्तिको हात रहेको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
साथै उनले उक्त महिलाको आपराधिक पृष्ठभूमि भएको जनाए। उनले भने,‘उक्त महिलालाई सर्वोच्चमा कसरी जागीर मिल्योरु जबकी उसको विरुद्ध आपराधिक केस छ। यसको पनि जाँच हुनुपर्छ।’
गोगोईले आफूमाथि लागेको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै न्यायपालीकाको स्वतन्त्रता खतरामा रहेको बताए। उनले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनको लागि गरिएको एक षड्यन्त्र भएको बताए। उनले भने,‘यस्तो अवस्थामा काम गर्नु पर्यो भने राम्रा मान्छे यो अफिसमा कहिल्यै काम गर्न आउँदैनन्।’
यौन उत्पीडनको आरोप लगाउने महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई चिठी पठाएकी थिइन्। जसमा उनले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागीरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छन्।


















