हेटौंडा / मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भएको
भारतीय क्राइम ब्रन्चको उच्च पदस्थ अधिकारीको लोगो प्रयोग गरिएको कारमा गाँजा ४८ किलो ८०० ग्राम सहित भारतीय नागरिक अमरजित सिंहलाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीस्थित तीनताप्केबाट प्रहरीले पक्राउ गरेको हो।
मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बिआर–३१ एम ५०५१ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा उक्त कारको सिटमुनि फल्स बटम बनाई आठ वटा पोकामा लुकाएर ल्याउँदै गरेको गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
बैशाख ६ गते दिउँसो विशेष सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेका सिंहलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।
यस अघि एम्बुलेन्स, ग्यास तथा तेल टयाङ्कर र अन्य सवारी साधनहरुमा लागूऔषध तस्कर हुने गरेको थियो। भारतीय क्राइम ब्रान्चको उच्च पदस्थ अधिकारीको लोगो प्रयोग गरीएको सवारीमा लागूऔषध बरामद भएको यो पहिलो घटना हो।
पक्राउ परेका सिंहमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। उक्त ऐन अनुसार लागूऔषध कारोबारमा संलग्नलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजार रुपैयाँदेखि एक लाखसम्म जरिवाना हुन सक्छ। लागुऔषध कारोबारमा प्रयोग गरिएको सवारीसाधन समेत जफत हुने कानुनी प्रावधान छ।


















