डडेल्धुरा देशकै ५० औँ साक्षर जिल्ला घोषित

86

डडेल्धुरा- दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरालाई देशकै ५० औँ साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आइतबार डडेलधुरालाई साक्षरता जिल्ला घोषणा गरेका हुन् ।

जिल्लामा १५ देखि ६० वर्ष उमेरको कुल जनसंख्या ८९ हजार ८ सय ८ रहेकोमा ८६ हजार ९ सय ३२ जना साक्षर रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । १५ देखि ६० वर्षसम्मका नागरिकमध्ये ९६।८ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणदत्त भट्टले जानकारी दिए। उनका अनुसार जिल्लामा अझै २ हजार ८ सय ७६ जना निरक्षर छन् ।

साक्षरताका लागि तोकिएका १२ मापदण्डमध्ये न्यूनतम ७ मापदण्ड पूरा गरेकाले जिल्लाका ७ वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको थियो । साक्षरता अभियानको लागि जिल्लामै सरोकारवाहरुको गठित समितिले कुल जनसंख्याको न्युनतम ९५ प्रतिशत जनसंख्या साक्षर भएको पाइएमा साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो ।

साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले साक्षरता अभियानसँग विद्यार्थी भर्ना अभियान जोड्न पनि जरुरी रहेको जनाए । जिल्लाहरुलाई धमाधम साक्षर जिल्ला घोषणा गरे पनि विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन नसकेको उनले जानकारी दिए ।

मन्त्रि पोखरेलले भने, ‘अझै धेरै बालबालिका विद्यालय बाहिर छन्, सबै स्थानीय तहले तिनको तथ्यांक खोजेर विद्यार्थी भर्ना अभियानलाई तदारुकताका साथ अगाडि बढाउनुपर्छ,’ ।

उनले भने, ‘९६।८ प्रतिशत पछि बाँकी रहेका ३।२ प्रतिशत निरक्षरको खोजी गरेर साक्षर बनाएमात्र पूर्णरुपमा साक्षर जिल्ला बन्नेछ ।’

आर्थिक, भौगोलिक विकटता र साँस्कृतिक कारणले बालबालिकाहरु विद्यालयमा आउन नसकिरहेको उनले औंल्याए । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन यी तीन वटा कारणलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उनको तर्क थियो ।

मन्त्री पोखरेलले सरकार राष्ट्रिय शिक्षा नीति बनाउन लागिरहेको पनि जानकारी दिए । उच्चस्तरीय शिक्षा आयोगले गत माघ १ गते प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाइसकेको जानकारी दिँदै उनले सो मस्यौदा मन्त्रिपरिषदमा पेश भइसकेको जानकारी दिएका छन् । उनले भने, अब चाँडै राष्ट्रिय शिक्षा नीति पास हुने विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here