रानीपोखरीमा डोजर चलाइएपछि सम्पदा संरक्षणकर्मी आत्तिए

122

काठमाडौं /  भूकम्पको चार वर्षपछि बल्लतल्ल बनाउन लागिएको रानीपोखरीभित्र डोजर चलाइएपछि सम्पदा संरक्षणकर्मी आत्तिएका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले डोजर प्रयोग नगर्ने र रानीपोखरी जस्ताको तस्तै बनाउने प्रतिबद्धता गत माघमा गरेर पुनर्निमाणको जिम्मा लिएको थियो । प्राधिकरणमा भएको विज्ञ सम्मिलित बैठकमा डोजर नछिराउने सहमति भएको त्यसमा सहभागी पुरातत्त्वविद् विष्णुबहादुर कार्कीले जनाए । ‘डोजर प्रयोग गरेको हो भने गलतभयो,’ उनी भन्छन्, ‘गर्नै नहुने काम भयो ।’

प्राधिकरणका कार्यकारी सदस्य तथा रानीपोखरी पुनर्निर्माण सहजीकरण समितिका संयोजक चन्द्र श्रेष्ठले ‘मान्छेले गर्दा ढिला हुने भएर, सजिलोका लागि’ डोजर छिराएको जानकारी दिए । ‘मेरो संयोजकत्वमा महानगरका ३ वटा वडाका अध्यक्ष, विज्ञ गरी ५ जनाको प्राविधिक समिति छ,’ उनले भने, ‘समितिमाछलफल गरेरै डोजर छिराएको हो ।’

डोजर चलाउँदा सम्पदा बिग्रँदैन भन्ने प्रश्न गर्दा उनले कान्तिपुरसँग भने, ‘हलका औजार छिराएको हो, प्रविधि आधुनिक प्रयोग गरे पनि शैली परम्परागत नै हुन्छ ।’ यसअघि प्राधिकरणले भक्तपुरदेखि श्रमिक ल्याएर पोखरी सम्याउन थालेको थयो । सम्पदा संरक्षणकर्मीहरूले डोजर चलाएपछि अब पोखरीको ‘सांस्कृतिक तह खल्बलिने’ चिन्ता जनाएका छन् ।

यी तहमा प्रत्येक समयको संस्कृति झल्कन्छ । हरेक सांस्कृतिक तहमा हरेक कालखण्डका केही न केही अवशेष भेटिन सक्छन् । उदाहरणको लागि सबैभन्दा माथिल्लो तह शाहकालीन अवशेष हुन सक्छ । शाहकालमा चाउचाउ, बिस्कुट लगायतका खोल भेटिएलान् । त्यो तह पारगरेपछि मल्लकालतिर पुगिएला ।

मल्लकालमा सिक्का हुन सक्छन् । मान्छेले प्रयोग गरेका सामान हुन सक्लान् । त्यहाँभन्दा तल गएपछि लिच्छविकालीन तह हुन सक्छ । त्यो तहमा लिच्छविकालका सिक्का हुन सक्लान् । अभिलेख भेटिएलान् । दरबारको अवशेष भेटिएलान् । प्रत्येक सांस्कृतिक तहको रेकर्डिङ गर्नुपर्छ ।

‘यो किताबको पाना पल्टाएजस्तै हो । सांस्कृतिक तह बिग्रियो भने कुन कालखण्डको हो भनेर विश्लेषण गर्न कठिन हुन्छ,’ उनी भन्छन् । यसअघि रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट प्रयोग गरेको थियो । पोखरीभित्र र वरिपरि लगाएको कंक्रिटका पर्खाल अझै भत्काएको छैन ।

रानीपोखरीमा पुरातात्त्विक मापदण्डविपरीत काम भएपछि सम्पदा संरक्षणकर्मीहरूले आन्दोलन थालेका थिए । महानगर र पुरातत्त्व विभागबीच पनि विवाद भएपछि प्राधिकरणले बनाउने जिम्मेवारी लिएको थियो । प्राधिकरणले पनि सावधानीपूर्वक काम गर्न नसकेको संरक्षण अभियन्ताले ख्याल गर्न थालेका छन् ।

पुरातत्त्वविद् सुदर्शन तिवारीका अनुसार रानीपोखरीको डिलमा कालोमाटो प्रयोग भएको छ । त्यो पानी अड्याउन राखिएको हो । ‘पोखरीको वालको एकातिर माटो, अर्कोतिर पानी हुन्छ,’ उनी भन्छन्,’ यो कुरा नबुझेर वा बुझ्न नचाहेर रानीपोखरीमा आधुनिक प्रविधि प्रयोग गरियो । आधुनिक निर्माण सामग्री राखियो । संरक्षणको नियम भनेको प्राचीन प्रविधि भए प्राचीन प्रविधि, प्राचीन निर्माण सामग्री भए प्राचीन निर्माण सामग्री र प्राचीन आकारको भए प्राचीन आकारमै बनाउनुपर्छ ।’

‘पानी पानी मात्रै होइन, हाम्रो जीवनशैली हो । पोखरी पानी थुनेर राखिएको संरचना मात्रै होइन,’ सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘त्यसको गहिराइमा पुग्न नसक्दा पहिला महानगरका मेयरले समस्या झेल्नुपर्‍यो । अहिले पनि त्यही भए हामी फेरि आन्दोलित हुन्छौँ ।’

रानीपोखरी बनाउँदा यसका अमूर्त पाटोलाई ध्यान नदिए फेरि आन्दोलनमा उत्रने चेतावनी श्रेष्ठले दिए । ‘रानीपोखरीमा गर्नै पर्ने केही धार्मिक र सांस्कृतिक विधि छन् । ति विधि असम्भव छैनन् तर अफ्ठेरा छन्,’ श्रेष्ठ भन्छन्, ‘रानीपोखरीसँग जोडिएको संस्कृति कायम राख्न प्राधिकरणले के गर्छ हामी हेर्दै छौँ ।’ प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्छन्,‘प्रताप मल्लले जसरी बनाएका थिए, त्यही शैलीमै बनाउँछौं ।’ कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here