कञ्चनपुर- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको नयाँ बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुने जनाएका छन् । उनले ५ वर्षभित्र ज्येष्ठ नागरिक लगायतको भत्ता पाँच हजार पुर्याउने गरी आगामी वर्षदेखि नियमित रुपमा वृद्धि गर्दै लैजाने जनकारी दिए ।
मन्त्री पोखरलले चुनावताका गरेको प्रतिबद्धताअनुसार वृद्ध भत्ता ५ हजार पुर्याउने गरी सरकार अघि बढेको जानकारी दिए । वर्तमान सरकारले ५ वर्षभित्र जेष्ठ नागरिकको भत्ता पाँच हजार पुर्याउँछ, आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाका चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै उनले भने, चुनावका बेला गरिएका प्रतिबद्धता र घोषणा पत्रमा उल्लेख भएका कुराहरु हामी पूरा गरेरै छाड्छौं ।
उनले गत आर्थिक वर्षमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य वीमा गरिएकोले भत्ता बढाउन नसकिएको जनाएका छन् । तर, गाउँमा जाँदा थुप्रैले भत्ता नबढाएको भन्दै ढाँटेको आरोप लगाएको उनले जनाए ।
वर्तमान सरकारले एक वर्षमा सम्बृद्ध नेपाल र सुखी नेपाली को नारा अनुसार त्यसका लागि जग हाल्ने काम गरेको मन्त्री पोखरेलले दाबी गरे । अब यसको तस्बिर बनाउने काममा लागेका छौ उनले भने, पाँच वर्षभित्र यो नारालाई सार्थक बनाएर छाड्छौं । सरकारले नीति तथा कार्यक्रममा समावेश गरेका सबै कुरा क्रमिक रुपमा अगाडि बढाउँदै लैजाने उनले जानकारी दिए ।


















