काठमाडौं / पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग राख्दै आज प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।
सरकारले पछिल्लो समय प्रेसमाथि अंकुश लगाउने काम गरेको भन्दै महासंघले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै काँग्रेस सभापति देउवाले पछिल्लो समय सरकारले प्रेसमाथि लगाएको अंकुश लोकतन्त्रविरुद्ध भएको भन्दै काँग्रेसले यसको घोर भत्र्सना गर्ने स्पष्ट पारे । सभापति देउवाले प्रेस स्वतन्त्रतालाई बचाइराख्न सरोकार पक्षहरुसंग सहकार्य गर्ने जनाए ।
सभापति देउवाले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले यसलाई सुरक्षित राख्न कांग्रेसले जोडदार रुपमा अभियान सञ्चालन गर्ने जानकारी दिए ।
महासंघले बुझाएको ज्ञापनपत्रमा समाचार लेखेकै आधारमा पत्रकारलाई राज्यविरुद्धको मुद्दा लगाएर जेल हाल्ने जस्ता कार्यले संविधानले सुनिश्चत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता चुनौतीपूर्ण भएको उल्लेख गरेको छ ।


















