पाँच वर्षपछि बग्दादीको भिडियो सार्वजनिक, इराकमा हारको बदला लिन श्रीलंकामा हमला

169

काठमाडौं- इस्लामिक स्टेट (आईएस) का नेता अबु बकर अल बगदादीले इराकमा पराजित भएको बदला लिन श्रीलंकामा हमला गरेको जनाएको छ। एक भिडियो सार्वजनिक गर्दै आईएसले इराकको बागुजमा पराजित भएको स्वीकार गरेको छ।

अन्तिम गढ मानिएको बागुज आफूहरुको नियन्त्रणबाट गुमेको स्वीकार गर्दै उसले बागुजमा भएको पराजयको बदला लिन श्रीलंकामा हमला गरेको जनाएको छ।

१८ मिनेट लामो भिडियोमा देखिएका व्यक्ति अबु बकर अल बग्दादी रहेको जनाइएको छ। भिडियोमा बोलिरहेका व्यक्ति बग्दादी हुन् या होइनन् भन्ने पुष्टि हुन सकेको छैन। यदि उनी बग्दादी नै हुन् भने पाँच वर्षयता उनको यो पहिलो भिडियो हो।

बग्दादीले सन् २०१४ मा पछिल्लो पटक भिडियो जारी गरेका थिए। त्यसयता सुरक्षा कारवाहीमा घाइते भएको, मारिएको जस्ता चर्चा चले पनि उनको अवस्थाबारे जानकारी हुन सकेको थिएन। आईएसको मिडिया नेटवर्क ‘अल फुरकान’ मा पोस्ट गरिएको सो भिडियो कहिले रेकर्ड गरिएको हो भन्ने पनि प्रष्ट छैन। तर श्रीलंकामा गरिएका ताजा हमलाका बारेमा चर्चा गरिएका कारण उक्त भिडियो हालै रेकर्ड भएको अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here