नीति तथा कार्यक्रममा प्रयोग भएका भाषामा उठेको प्रश्नप्रति छलफलमा नेकपा सांसदहरूलाई रोक

101

 काठमाडौं / सत्तारुढ दल नेकपाले सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका हुन्।

 सांसदहरूले संसदीय दलको  बैठकमा नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए। उठेका प्रश्नको सरकारका तर्फबाट जबाफ दिनुपर्ने माग उनीहरूको थियो। तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। नीति तथा कार्यक्रममाथि वैशाख २४ गते मतदान हुनेछ।

संसदीय दलको बिहान ११ बजे बोलाइएको बैठक प्रधानमन्त्री ओलीका कारण एक घन्टा ढिलो सुरु भएको थियो। ओली नआउँदै पार्टी अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बैठकमा उपनेता नेम्बाङले नीति तथा कार्यक्रम राम्रो आएको भन्दै समर्थन जनाउन निर्देशन दिएका थिए। प्रधानमन्त्रीको विदेश भ्रमणका कारण छलफलका लागि समय नरहेको भन्दै नेम्बाङले २४ गतेपछि दलको बैठक बोलाइने जानकारी दिएका थिए। छलफल गर्न नपाइने भएपछि केही सांसदले असन्तुष्टि जनाएका थिए। राष्ट्रपतिबाट ‘मेरो सरकार’ भनी नीति तथा कार्यक्रममा भएको सम्बोधन र केही तथ्यांकबारे सरकारका तर्फबाट स्पष्ट पार्नुपर्ने र छलफलका लागि समय दिनुपर्ने माग सांसदहरुको थियो।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको विपक्षीबाट विरोध हुन थालेको भन्दै बचाउ गर्न र समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिँदै भने ‘नीति तथा कार्यक्रममा कसैले पनि औंला ठड्याउने ठाउँ छैन,’ ओलीले भने, ‘यसै अनुसार प्रस्तुत हुनुहोला।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here