एजेन्सी / स्पेनिस लिग च्याम्पियन बार्सिलोना र दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले लज्जास्पद हार भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–० गोलले पराजित भएको छ । अर्को खेलमा एट्लेटिको स्पान्योलसँग ३–० गोलले पराजित भयो ।
बार्सिलोनाविरुद्ध ६७औं मिनेटमा सेल्टा भिगोका म्याक्सी गोमेजले पहिलो गोल गरेका थिए । इगो आस्पासले खेलको ८८औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित पारेका थिए । बार्सिलोनाले टोलीका मुख्य हतियार लियोनल मेस्सी, जेरार्ड पिके र लुईस स्वारेजलाई आराम दिएको थियो । त्यसैले पनि खेलमा सेल्टा भिगो हावी बन्यो । यसखेलपछि बार्सिलोनाको ३६ खेलबाट ८३ अंक छ । सेल्टा भिगो ४० अंक सहित १४ औं स्थानमा उक्लिएको छ ।
अर्को एकपक्षीय खेलमा स्पान्योलले ४५ औं मिनेटमा बार्सिलोनाका डिएगो गोल्डिनको आत्मघाती गोल सहयोगमा अग्रता लियो । ५२औं मिनेटमा बोर्जा इग्लेसिसले दोस्रो गोल गरे । साथै बोर्जाले ८९औं मिनेटमा पेनाल्टी मार्फत अर्को गोल गर्दै टोलीको जित सुनिश्चित बनाए । एट्लेटिकोको गोल फर्काउने प्रयास अन्तिमसम्म पनि सफल भए । जितसँगै ४७ अंक बनाएको स्पान्योल नवौं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिकोको ७४ अंक छ ।


















