बैद्यबाट ५ पार्टीसंग पार्टी एकताका लागि आह्वान

437

काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले सबै सच्चा क्रान्तिकारी पार्टी, समूहहरु एउटै विशाल क्रान्तिकारी पार्टी निर्माणको अभियानमा जुट्नुपर्ने जनाए ।

क्रान्तिकारी माओवादीले कार्ल माक्र्सको द्धिशतबार्षिकीका अवसरमा इच्छुक प्रतिष्ठानमा आयोजना गरेको ‘मार्क्सवादको वैज्ञानिकता र क्रान्तिको ऐतिहासिक कार्यभार’ विषयक विचार गोष्ठीमा एउटै मञ्चमा जम्मा भएका विभिन्न पाँच कम्युनिस्ट पार्टीका प्रमुख नेताहरुलाई क्रान्तिकारी पार्टी निर्माणको लागि एकता प्रकृयामा आउन आह्वान गरेका हुन् ।

कार्यपत्र प्रस्तुत गर्नु अघि बैद्यले पार्टी निर्माणको लागि एकता प्रकृयामा आउन आह्वान गरेका थिए । मार्क्सवादको वैज्ञानिकता र क्रान्तिको ऐतिहासिक कार्यभार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले पाँच पार्टीका शिर्ष नेताहरुलाई भने–‘माक्र्सवादको नियमलाई प्रयोगसँग जोड्नु आवश्यक छ । अब सत्ताधारीहरुले सरकारी कम्युनिस्ट पार्टीको एकताको हल्ला चलाएका छन, हामी जो क्रान्तिकारी छौ, हाम्रो एकतालाई कुन चिजले रोकेको छ, आज यहि विषयमा छलफल गरौं र एकताको धारणा बनाउँदै अघि बढौं ।’ उनले गफ गरेर र कम्युनिस्ट पार्टीको झण्डा मात्र बोकेर अब काम नचल्ने भन्दै विभिन्न अवस्थामा अलग हुन पुगेका सबै सच्चा क्रान्तिकारी पार्टी, समूहहरु एउटै विशाल क्रान्तिकारी पार्टी निर्माणको अभियानमा जुट्नुपर्नेमा जोड दिए ।

उनले भने–‘अब एकताको समय आयो भनेर भन्नुस्, तपाईहरुको विषय के के छन, खुलाएर राख्नुहोला । आजको यो कार्यक्रमले एकताबारे हाम्रा धारणा के कस्ता छन, र के कहाँ मिल्दैनन्, त्यो विषयमा छलफल गरोस । हामी एकताको आधार बनाऔं ।’

उनले नेपाली क्रान्तिका साथै विश्वक्रान्तिका कार्यभार पुरा गर्नका लागि सच्चा क्रान्तिकारीहरुबीचको एकता आवश्यक रहेको औल्याउँदै पथप्रदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद माओवाद मान्नेहरुबीच छलफल चलाउन पथप्रदर्शक सिद्धान्तलाई राम्रोसित आत्मसात गर्नुपर्नेमा जोड दिए । त्यस्तै उनले माओवाद र माओविचार मान्नेहरु सबै सँग एकताको विषयमा छलफल चलाउँदै अन्तिम निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रका अधिकाशं अतिथि वक्ताहरुले कार्यपत्रमाथि टिप्पणी राख्दै एकताको लागि सहमत रहको तर छलफल चलाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुलाई मञ्चमा राखेर अघि बढाएको उक्त कार्यक्रममा राज्यद्धारा प्रतिबन्धित दल नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष गोपाल किराँती, नेकपा (माले)का महासचिव सीपी मैनाली, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वप्रकाश दुलाल आहुँती लगायत अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here