आफ्नो धर्म विपरीत अन्तिम संस्कार गरेको भन्दै जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला

268

बारा- हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि ओमप्रकाश यादव (अवधेश)को नौजनाको परिवार विस्थापित भएको हो ।

१५ वैशाखमा ओमप्रकाशलाई पितृशोक परेको थियो । उनी किरियामा बसेको भोलिपल्ट जिमिलाल र विद्यानन्दको अगुवाइमा पञ्चायत डाकियो । पञ्चायतले ओमप्रकाशलाई सामाजिक बहिष्कार गर्ने निर्णय सुनायो । उनको परिवारसँग बोलचाल गर्ने गाउँलेलाई पनि ३० हजार जरिवानाको फैसला गर्‍यो । त्यसपछि गाउँलेहरू तर्किन थाले ।

पति वियोगले मर्माहत ओमप्रकाशकी आमा बिन्दा सामाजिक बहिष्कारको निर्णयले थप प्रताडित बनिन् । न्याय माग्न जिल्ला प्रशासन कार्यालय पुग्दा पनि उनले तिरष्कार मात्रै पाइन् । प्रशासनले उनलाई ‘गाउँको विवाद गाउँमै मिलाउनू’ भनेर फर्काइदियो ।

वडासदस्यबाट अन्यायमा परेका यादव परिवारले वडाध्यक्ष शिवधारी दासलाई भेटेर न्यायको गुहार माग्ने कोसिस गर्‍यो । तर, दास सम्पर्कमै आउन चाहेनन् । यसबीचमा गाउँलेहरूले ओमप्रकाशको परिवारलाई बहिष्कार गर्न थालिसकेका थियो । केही सीप नचलेपछि काजकिरिया सकिएको भोलिपल्टै २२ वैशाखमा गाउँ छाडेको ओमप्रकाशले बताए । उनीहरू अहिले हेटौँडामा बसिरहेका छन् । नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here