दाङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको खुलासा गरेका छन् ।
दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले ‘महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुनुपर्छ, तर, अहिले कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल नगर्ने गरिएको जनाए । नेपालले भने ‘पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष हो ।’
उनले पार्टीमा छलफल गर्ने वातावरण नहुँदा धेरै विरोध खेप्नु परेको जनाए । हाल उत्पन्न समस्या र सरकारको कामको समिक्षाको बारेमा समेत पार्टीभित्र कुनै छलफल नभएको उनले स्पष्ट पारे ।
बैठकबाट यस्ता कुराहरू आउँदा पर्दाखेरी सरकार एक्लो नहुने जनाएका उनले आफूहरूसँग परामर्श तथा छलफल नै नगरी ल्याउन लागेको विधेयकका बारेमा के भन्ने कुरा अन्यौलता छाएको जनाए ।
सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्न पटक–पटक कुरा उठाए पनि त्यसलाई बेवास्ता गर्ने गरिएको भन्दै उनले असुन्तुष्टि पोखे ।
मिडिया काउन्सिल विधेयकको समर्थन वा विरोधका बारे भने उनले केही बोलेनन् ।
नेता नेपालले समाचारमा विश्वसनियता सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गरे। पछिल्लो समय पहिलो हुने नाममा समाचार सत्य र तथ्यमा भन्दा पनि अनुमानको भरमा लेखिने हुँदा पत्रकारिताप्रति आम मानिसको विश्वसनियता कम हुँदै गएको छ त्यसैले अलिकति मिडियालाई अनुशासित भने बनाउन आवश्यक रहेको छ उनले भने ।


















