सगरमाथामा ७५ आरोहीले आरोहण, कामिरिताको २४ औं आरोहण

105

काठमाडौं /  विश्वको अग्लो शिखर सगरमाथामा आरोहणका क्रममा  हालसम्म ७५ भन्दा बढी सफल आरोहण गरेका छन् । आरोहण सुरू भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ। विभागकी निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत् जानकारी आएको र यसको पुष्टि भने भएको छैन् ।

‘सगरमाथा आरोहणका सुरूका दिनमा राम्रै प्रगति भएको थियो, बीचमा तीन दिनजति मौसम खराबीले आरोहण हुनसकेको थिएन, आज रातिदेखि आरोहण हुनसक्ने जानकारी आएको छ,’ उनले भनिन्,’ यति जनाले सगरमाथा आरोहण गरे भनेर विभागले भन्ने अवस्था छैन तर, पनि हामीलाई एजेन्सीले जानकारी गराएअनुसार ७५ को हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन्।’ सगरमाथाको आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार धेरै आरोही सगरमाथाको क्याम–२ भन्दा माथि भएको र सबै आरोहीमाथि ९सगरमाथाको चुचुरो० तिर लागेपछि यतिखेर आधार शिविर शून्यजस्तो भएको छ।

कामिरिता २४ औं आरोहणमा

वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि सुरू भएको थियो। आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३औं पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनी २४ औं पटकको सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेका पर्यटन विभागले जनाएको छ । तीन दिनदेखि प्रतिकूल मौसमका कारण आरोहण हुनसकेको छैन। अहिले उल्लेख्य सङ्ख्यामा आरोही अनुकूल मौसमको पर्खाइमा छन्। सम्भवतः आज रातिबाट आरोहण हुने र भोलिसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने उल्लेख गरिएको छ ।

मौसमले साथ नदिएका कारण धेरै आरोही चुचुरोमा जाने प्रतीक्षामा छन् भने आजदेखि मौसममा सुधार आएकाले एकै पटक चुचुरोतिर जानेको भीड लाग्ने सम्पर्क अधिकृत श्रेष्ठको भनाइ थियो।  कञ्चनजंघा, मकालु ल्होत्से, अन्नपूर्णलगायत हिमालको पनि सफल आरोहण भएको छ। आरोहीको सङ्ख्याको यकिन जानकारी आइनसकेको विभागले जनाएको छ। सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन्।

विभागका अनुसार यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सगरमाथा आरोहणका लागि मात्रै ४४ आरोही समूहका ३८१ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३७ विदेशी र सात नेपाली आरोही समूह छन्।

सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करिब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ। यसमा सबभन्दा धेरै रु ४४ करोड ४२ लाख ४३ हजार सगरमाथाबाट मात्र छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here