-निमकान्त पाण्डे
लोकतन्त्रमा पनि प्रजाकै जस्तो व्यवहार अपेक्षा गर्ने शासक र शासकसामु प्रजाकै शैलीमा आफूलाई शासित ठान्ने जनताबीचको सम्बन्धलाई पछिल्लो पटक हनुमानगिरी वा हनुमानकारिता भन्न थालिएको छ ।
हिन्दी र नेपाली भाषामा पनि प्रयोगमा आइरहने एउटा शब्द छ ‘गुलामी’ । यसको अर्थ नोकरले मालिकको सेवा गर्ने भन्ने हुन्छ । अहिले यो शब्द नेपालीकरण हुँदै हनुमानगिरीमा परिणत भएको छ । हनुमानकारिताको अर्थ हो गुलामी ! मालिक र नोकरकै नभएपनि शासक र शासितका बीचमा गुलामी शब्द बढी सान्दर्भिक देखिन्छ । लोकतन्त्रमा पनि प्रजाकै जस्तो व्यवहार अपेक्षा गर्ने शासक र शासकसामु प्रजाकै शैलीमा आफूलाई शासित ठान्ने जनताबीचको सम्बन्धलाई पछिल्लो पटक हनुमानगिरी वा हनुमानकारिता भन्न थालिएको छ । कतिपयले यसलाई चाटुकारिता पनि भन्ने गरेका छन् । यस आलेखको मुख्य विषय वस्तु यही भएकाले सुरुमै शब्दको व्याख्या गर्नुपरेको हो ।
जनताले नरुचाएका तीन वटै व्यवस्था राणा शासन, पञ्चायत र राजतन्त्रमा नचाहँदा नचाहँदै पनि गुलामी गर्नुपर्नै बाध्यता थियो ।
सयौँ वर्षदेखि नेपाली जनताले भोग्दै आएको सामन्तवादी प्रवृत्तिको अन्त्यका लागि निकै ठूला संघर्ष र युद्धहरु भए । गलतलाई पनि सही मान्नुपर्ने सामन्तवादी प्रवृत्तिको अन्त्य गर्दै सहीलाई सही र गलतलाई गलत भन्न पाउनुपर्नै व्यवस्थाको लागि भन्दै गरिएका आन्दोलन र संघर्षकै परिणाम २००७ सालमा राणा शासनको अन्त्य भयो, २०४७ मा पञ्चायती व्यवस्थाको अन्त्य भयो र २०६३ मा राजतन्त्रको पनि अन्त्य भयो । नेपालको राजनीतिक आन्दोलनमा ठूलो महत्व राख्ने र व्यवस्था परिवर्तन गर्ने ठूला–ठूला आन्दोलन जनताको शासन स्थापनाका लागि गरिएका हुन् भन्ने कुरामा विवाद देखिदैन । जनताले नरुचाएका तीन वटै व्यवस्था राणा शासन, पञ्चायत र राजतन्त्रमा नचाहँदा नचाहँदै पनि गुलामी गर्नुपर्नै बाध्यता थियो । ती व्यवस्थामा शासक नांगै भएपनि उनीहरुलाई सजिसजाउ र झकिझकाउ देख्नुपर्ने आम जनताको बाध्यता थियो । बाँच्नका लागि स्वास प्रस्वास गर्नैपर्छ दुर्गन्धित ठाँउमा पनि । ती व्यवस्थाहरुमा बाँच्नकै लागि समर्थनका बाध्यता रहन्थे ।
विगत एक दशक यताको कुरा गर्ने हो भने लामो समयदेखिको जनताको सपना पूरा भएको छ, सत्तादेखि सदनमा जनताकै छोराछोरीहरु पुगेका छन् । तर बिडम्बना ! सत्ताको प्रभाव यति शक्तिशाली हुँदो रहेछ कि जनताको व्यवस्थामा पनि चाटुकारिता र गुलामीले पछि छोडिरहेको छैन । सामन्ति व्यवस्थामा जनताले नचाहेपनि सत्ता र शक्तिको गुलामी गर्नैपथ्र्याे, तर अहिले केही हदसम्म शासकको चाहना र केही हदसम्म शासकको वरिपरि घुम्न पाउने व्यक्तिहरुको अभिलाशाका कारण गुलामी व्यवस्था कायमै देखिन्छ । यसैको उदाहरण हो वर्तमान सरकारले गरिरहेका कामलाई उलेख्य उपलब्धि ठान्ने प्रवृत्ति पनि ।
देश झन–झन कठिन बाटोतर्फ अघी बढ्दै छ तर सत्ताको वरिपरि घुम्नेहरुले यसैलाई महान भन्दै सरकारको धुपौरो बाल्नमै समय खर्चिरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको आवरणमा दुई तिहाइको सरकार बनेको डेढ वर्ष पुगिसकेको छ । जनताको अधिकारका लागि लड्छौँ भन्ने व्यक्तिहरु सत्तामा पुगेका छन् । जनताको अवस्था भने अहिले झन दयनीय बन्दै गइरहेको छ । रोजगारीका अवसर छैनन, ५० डिग्रीको तातो मरुभूमिमा नागरिकहरुले श्रम बेच्न बाध्य बनिरहेका छन् । महंगीले टुप्पी बिक्ने अवस्था विकसित भएको छ, हरेक सरकारी निकायमा अनियमितता र भ्रष्टाचार व्याप्त छ, देश झन–झन कठिन बाटोतर्फ अघी बढ्दै छ तर सत्ताको वरिपरि घुम्नेहरुले यसैलाई महान भन्दै सरकारको धुपौरो बाल्नमै समय खर्चिरहेका छन् ।
सामन्तहरु सडकमा गुड्दा जनताले सडक खाली गर्नुपर्ने, सामन्तहरु आकाशमा उड्दा आकाशै खाली गर्नुपर्ने ! यस्तो व्यवस्थालाई लोकतन्त्र भन्नु दासतन्त्रको पराकाष्टा हो ।
गुलामी गर्ने र सरकारको प्रशंसा गर्ने व्यवस्था हिजो पनि थियो, त्यही व्यवस्था जनताका लागि उपयुक्त भएन भनेर नयाँ व्यवस्था ल्याइयो, तर गुलामी गर्ने बानी परेकाहरुले जनताकै प्रतिनिधिलाई पनि राजाकै शैलीमा उतारिरहेका छन् । सामन्तहरु सडकमा गुड्दा जनताले सडक खाली गर्नुपर्ने, सामन्तहरु आकाशमा उड्दा आकाशै खाली गर्नुपर्ने ! यस्तो व्यवस्थालाई लोकतन्त्र भन्नु दासतन्त्रको पराकाष्टा हो । दुःखको कुरा हिजो सामन्तवाद र दलाल पूँजीपतिको घोर विरोध गर्नेहरु सत्तामा पुगेपछि त्यही बाटोलाई पछ्याउन कति पनि हिचकिचाइरहेका छैनन् ।
सरकारका कामकारबाहीबाट जनतामा चरम निराशा छाउँदा समेत सत्ताको वरिपरि बसेर गुलामी गर्दै फाइदा लिनेहरुले जनता सरकारबाट खुसी भइरहेको गलत सूचना सम्प्रेषण गरिरहेका छन् । त्यसैलाई सत्य ठान्दा कम्युनिस्ट नेतृत्वको सरकार समेत कुनै सामन्त शासकको सरकार भन्दा कम देखिएको छैन ।
जनताको अवस्था के छ ? जनताको चाहना के छ ? सरकारबाट जनता किन असन्तुष्ट छ्न ? सरकार जनताका अपेक्षा पुरा गर्न किन सक्षम हुन सकेको छैन ? यस्ता महत्वपूर्ण विषय जहिले पनि ओझेलमा पर्ने गरेका छन् । जसको परिणाम हिजोका शासकहरु जस्तै आजका जनताका नेता भनिएकाहरु पनि जनताको नजरबाट गिर्दै छन् । जुनकारणले विकल्पको सुरु गरिएको थियो, त्यहि प्रवृति दोहोरिएको अवस्था छ, आज पनि शासकहरुमा सामन्ती व्यवस्थाकै धङधङी देखिन्छ । जसले गर्दा गुलामी गर्नेहरुका कुरालाई पनि शासकहरुले सहजै पत्याउन थालेका छन् । सरकारका कामकारबाहीबाट जनतामा चरम निराशा छाउँदा समेत सत्ताको वरिपरि बसेर गुलामी गर्दै फाइदा लिनेहरुले जनता सरकारबाट खुसी भइरहेको गलत सूचना सम्प्रेषण गरिरहेका छन् । त्यसैलाई सत्य ठान्दा कम्युनिस्ट नेतृत्वको सरकार समेत कुनै सामन्त शासकको सरकार भन्दा कम देखिएको छैन ।
हुँदै नभएको कामलाई पनि भएको र जनपक्षीय रहेको भन्ने भ्रम फैलाउने चाटुकारिताको अन्त्य हुन आवश्यक छ ।
सबैलाई चेतना भया !
बादशाहको रजाँई भएको देशमा बादशाह नांगै हिँडेपनि प्रजाहरुले सजिसजाउ देख्नु पर्ने र प्रशंसा गरिदिनुपर्ने इतिहास आजको अवस्थामा पनि दोहोरिएको देखिनु आश्चर्यजनक हो । नेपालमा बादशाहको त अन्त्य भइसकेको छ तर नयाँ बादशाह जन्माउने प्रयासमा रहेका कतिपयले सरकारले गर्दै नगरेका कामको पनि फेहरिस्त सुनाउँदै सरकारको प्रशंसा गरिरहेका छन् । अन्तत यसले लैजाने दुर्घटनातर्फ नै हो । त्यसैले हुँदै नभएको कामलाई पनि भएको र जनपक्षीय रहेको भन्ने भ्रम फैलाउने चाटुकारिताको अन्त्य हुन आवश्यक छ । अन्यथा सामन्तवादका विरुद्ध दशकौँ देखि लड्दै आएका जनता पुनः एक पटक सामन्तवादका विरुद्ध लड्न कुनै कठिनाई हुने छैन । यसतर्फ शासक र चाटुकार दुवैले गम्भिर भएर सोच्न आवश्यक छ । सबैलाई चेतना भया !- जनधारणा साप्ताहिक

















