सोलुखुम्बु / न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले सोलुखुम्बुका दुर्गम बस्तीहरुमा शिक्षा कार्यक्रमको अनुगमन गर्नु भयो । न्यूजिल्याण्डमा सन् १९९९ देखि २००८ सम्म प्रधानमन्त्री रहनुभएकी क्लार्क न्यूजिल्याडका नागरिक सर एडमण्ड हिलारीले स्थापना गर्नुभएको हिमालयन ट्रष्टले गरिरहेको कामको अनुगमन गर्नुभएको हो ।
सगरमाथाका प्रथम आरोही हिलारीले झण्डै ६ दशकअघि स्थापना गरेको ट्रष्टबाट सोलुखुम्बुका विभिन्न विद्यालयमा शैक्षिक तालिम सञ्चालन गर्नुको साथै विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान र विद्यालयलाई भौतिक सहयोग सहयोग गर्दै आएको छ । न्यूजिल्याण्ड सरकारको समेत सहयोग रहेको कार्यक्रमको प्रभावकारीताको अनुगमनका लागि कार्यक्रम स्थलमै पुगेको क्लार्कले जानकारी दिएका छन् । उहाँले ११ दिन लगाएर खुम्बु पासाङल्हामु तथा सोलु दूधकुण्ड नगरपालिकाका विभिन्न विद्यालयमा पुग्नु भएको हिमालयन ट्रष्ट सोलुखुम्बुका नव भुजेलले जानकारी दिनुभयो । अनुगमनपछि पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले नेपाल र न्यूजिल्याण्डको सम्बन्ध सगरमाथा जतिकै उच्च रहेको जानकारी दिएका थिए । नेपालमा रहेको सर्वोच्च शिखरमा पहिलो पाइला टेक्नेमध्ये न्यूजिल्याण्डका नागरिक पनि हुनु आफूहरुका लागि गौरवको विषय भएको उहाँको धारणा छ ।
विशिष्ट व्यक्तिको अनुगमनपछि जिल्लाको शैक्षिक सुधारका लागि थप बल पुगेको सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्माले बताउनुभयो । उहाँ आफ्नो सामान रहेको झोला आफै बोकेर दुर्गम बस्तीमा पैदल हिँड्दै विद्यालयमा पुग्दा विद्यार्थीमा सकारात्मक प्रभाव परेको पनि क्याम्पस प्रमुख शर्माले जनाउनु भयो ।

















