-प्रीति रमण
नेपालको तराई क्षेत्र छिमेकी देश भारतको जति चासोको भू–भाग बनेको छ, त्यतिकै लापर्वाही र बेवास्ता तराई क्षेत्रप्रति नेपालकै सरकारको भइरहेको छ । यसरी बेसरोकार देशको बेसरोकारको चासो र आफ्नै देशले लावारिश सन्तान जस्तो ठानिरहँदा दुवैतर्फको चेपूवामा तराईबासी जनताले कष्टप्रद जीवन जिउनु परेको अवस्था छ । तराईबासीको वास्तविक अवस्था बारे केही दृष्टान्तहरु यसरी दिन सकिन्छ :
सर्वप्रथम हालै मात्र विशेष चर्चाको विषयमा केन्द्रित रहेर छलफल गरौं –भारत नियन्त्रित कोसी योजनाका कर्मचारीले पूर्व जानकारी बिनै पाइलट च्यानलमा कोसीको पानी छोड्दा हालै मात्र सप्तरीको गोबरगाढाको जनजीवन प्रभावित भयो । कोशीको पानीले बस्ती डुबाउन थालेपछि गोबरगाढाका झण्डै ९० परिवार लगभग दुई दिन सम्पर्कविहिन हुन पुगेका थिए । यसै सिलसिलामा विगतलाई पनि सम्झनु पर्ने हुन्छ –२०७३ साउन दोस्रो साता सप्तरीको तिलाठी नजिकै नेपाल भारत सीमाको दशगजा क्षेत्र मिचेर भारतीय पक्षले बाँध निर्माण ग¥योे । त्यसले नेपाली भूमि डुबानमा पारेपछि तराईबासी स्थानीय नेपालीहरुले त्यसको विरोध गरे । दशगजा क्षेत्रलाई मिचेर निर्माण गरिएको बाँधले नेपाली भूमि डुबानमा परेपछि नेपालका तर्फबाट स्थानीय बासीहरुले उक्त बाँध भत्काएका थिए । नेपाली पक्षले बाँध भत्काईदिएपछि भारतीय पक्ष नेपालीहरुमाथि जाई लागे । भारतीय व्यवहारको विरोध गर्दा तिलाठी निवासी सप्तरीका पूर्व जिविस सदस्य देवनारायण यादव, रोशनकुमार झा लगायतका झण्डै आधा दर्जन नेपालीहरु घाइते भएका थिए । भारतले नेपालको सीमा नजिकै बनाएका झण्डै दुई दर्जन बाँधका कारण प्रत्येक वर्ष वर्षाको समयमा नेपाली भूमि डुबानमा पर्ने र नेपाली नागरिकहरुले धन जनको क्षति व्योहोर्नुपर्ने अवस्था विद्यमान छ ।
माथि उल्लेख गरिएका दृष्टान्तहरु नै नेपालको तराई क्षेत्रप्रति छिमेकी देशको कस्तो दृष्टिकोण छ भन्ने पर्याप्त उदाहरण बन्न सक्दछन् । तराईमा डुबानको समस्या, भारतीय पक्षको भूमिका र नागरिकको पिडाका बारेमा धेरै कुरा भन्नुपर्छ जस्तो मलाई लाग्दैन । खुल्ला सीमानाका कारण तराईका नागरिकहरूले भोग्नुपरेको समस्याबारे उल्लेख गरी साध्य छैन । यथार्थमा तराई क्षेत्रमा बस्ने नागरिकहरूलाई राज्यले अहिले पनि पूर्ण नागरिक मान्न तयार देखिदैन । सीमापारिका नागरिकसँग रहन्–सहन्, भेष–भुषा र भाषा मिलेकै कारणबाट राज्यले तराईबासीलाई भारतीय नश्लको रूपमा हेर्ने गर्दछ, जसले गर्दा नेपाली नागरिक भएर पनि उनीहरूले दोेस्रो दर्जाको नागरिकको पीडा भोग्नु पर्ने बाध्यता छ । भूमि आफ्नो ठान्ने तर नागरिक अर्कैको ठान्ने नेपाली राज्यको चरित्रका कारण सबैभन्दा बढी कोही पीडित छन् भने त्यो तराईबासी नागरिक नै हुन् । जसले सीमा क्षेत्रको सुरक्षा गरेर नेपाली भूमिको रक्षा गरिरहेका हुन्छन् । आफ्नै राज्यले पराई ठानेकाहरु सामु आफ्ना दुःख सुनाउन कोसँग जानु ? तराईकै बासिन्दा भएका कारण आफ्नै देशभित्रका हिमाल र पहाडमा पुग्दा अपमानित हुनुपर्ने उनीहरूको अर्काे बिडम्बना पनि छदैछ । यो अवस्था एकातिर छ भने अर्को तिर भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिलाउने होडबाजीमा सत्ता पक्षले सत्ता टिकाउने आधार बनाइरहेको पाइन्छ ।
भारतको सीमा क्षेत्रमा बसेका कारण तराईबासी जनता भारतीय पक्षका कारण पनि झन धेरै दुःख कस्ट भोग्न बाध्य हुने गरेका छन् । भारतीय पक्षले कहिले आफ्नो सिमा बिस्तारको चाहनामा दुख दिईरहन्छ त कहिले भारतीय सुरक्षाकर्मीहरुले विभिन्न बहानामा कुटपिट तथा लुटपाट गर्ने गर्दछन, सीमा खुल्ला भएका कारण भारतीय राज्य उत्तर प्रदेश र बिहारबाट आउने अपराधिक समूहको निशानामा पनि तराईबासी जनता नै पर्ने गरेका छन् । केही दिन अघिको घटना पनि यहाँ जोड्न आवश्यक लागेको छ । भारतीय प्रहरीहरु हतियारसहित नेपालको ३ नं प्रदेशको राजधानी रहेको शहर हेटौंडासम्म बिना अवरोध प्रवेश गरेका थिए । ती भारतीय प्रहरीले तराई क्षेत्रका जनतालाई जस्तोसुकै किसिमको दुःख दिन सक्ने सम्भावना रहन्छ । भारतीय प्रहरीले नेपालको अन्य भू–भागलाई भन्दा तराई क्षेत्रको भू–भागमा बस्ने नेपाली नागरिकहरुलाई प्रभावित तुल्याउँदै आएका छन् ।
भारतीय पक्षबाट नेपाली भएकामा हेपिने र दुःख पाउने गरेका तराइवासीहरु आफ्नै देशका तर्फबाट भारतीय नश्ल देख्ने भएका कारण हेपिनु परेको अवस्था छ । राज्यले नागरिकलाई दिनुपर्ने अधिकारको माग गर्दा समेत उनीहरू राज्यको दमन र गोलीको शिकार हुनुपर्ने बाध्यतामा बाँचिरहेका हुन्छन् । राज्यबाट नागरिकले पाउनुपर्ने अधिकारको माग गर्दा सयौँ तराईबासीले राज्यको गोलीको शिकार हुनुपरेका उदाहरण हामैै्र सामु छन् । आफ्नो भूमिको रक्षाका लागि लड्दा छिमेकी मुलुकको गोली खान बाध्य तराईबासीहरू आफ्नै राज्यबाट पनि सुरक्षित महसुस गर्दैनन् । एक किसिमले उनीहरु आफूलाई राज्यविहीन जस्तै महसुस गर्न बाध्य भएका छन् ।
अशिक्षा, बेरोजगारी, गरिबी तथा सामाजिक चेतना जस्ता विषयमा पनि तराईबासीहरू कमजोर छन् । बहुसंख्यक तराईबासी अहिले पनि पीडादायी जीवन यापन गर्न बाध्य छन् । कतिपय कुरीति र कुसंस्कारका कारण आज पनि तराईमा महिलाहरूको शैक्षिक अवस्था र बालविवाह निकै दर्दनाक हुने गरेको छ । छिमेकी मुलुकबाट गैरकानुनी रूपमा नागरिकता लिनेहरुको बाहुल्यताका बीचमा अल्पसंख्यक हुँदै गएका तराईबासी नेपालीहरूप्रति राज्यको व्यवहारले अझ बढि पीडा थपिने गरेको छ । राज्यले अंगीकृत नागरिकता प्राप्त गरेकाहरूलाई बरु नागरिक ठान्छ, त्यहीँका आदिवासीहरुलाई नागरिकता दिन समेत कन्जुस्याँई गर्दछ । आफ्नै आँखा अगाडि बाहिर देशबाट आएको व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्दा वर्षाैँदेखि नेपाली भएर बसिरहेको व्यक्तिले नागरिकता पाउन नसक्दा त्यो भन्दा बढि पीडा अरू के हुन सक्ला ? यसरी तराईबासीहरूको लागि राज्य पराई बनिरहेको छ, पराईले त झन् आफ्नो ठान्ने त कुरै भएन । आफ्नो र पराइका बीचको चेपुवामा परेका जनताले न्याय र अधिकार खोज्न कहाँ जाने ? सायद यही अन्योलताले विखण्डनकारीहरुलाई यो क्षेत्र उर्वर बनिरहेको हो कि ! राज्य सञ्चालहरु गम्भीर बन्नु जरुरी छ । तराईवासी जनताका तीन पुर्खाको पीडा समान रहेको पाइन्छ । हजुरबुवाले जुन पीडा भोग्दै आए, बाबुले त्यही पिडा भोग्नु परिरहेको अवस्था छ भन छोराले पनि बाबु र बाजेले भोग्दै आएको पीडाको निरन्तरता रहेको छ । अब भावी सन्ततीको पनि त्यही अवस्था उसले अहिले नै देखिसकेको छ । एउटा आम नागरिकका लागि यो भन्दा ठूलो पीडा अरु के हुन सक्छ ? आफ्नै नागरिक आफैबाट कसरी पीडित भइरहेको छ भन्ने कुरा राज्य सञ्चालकहरुले या त देखेका छैनन् वा देख्न चाहिरहेका छैनन् । यस्तो पीडा एउटा नागरिकले कहिलेसम्म भोग्नु पर्ने हो ? जवाफ कस्ले दिने ?-ramanpreeti033@gmail.com – जनधारणा साप्ताहिक


















