नयाँ तर संयुक्त क्रान्तिको निर्माण गरौं

172

-हुकुमबहादुर सिंह

एउटा क्रान्तिकारी पार्टीका लागि उसका हरेक कार्य तथा व्यवहारहरु क्रान्तिको सफलताको प्रश्नसित जोडिएका हुन्छन् । विप्लवको यही जेठ १३ गतेको यो बन्दवारे पनि सत्य हो । विप्लवले जेठ १३ गते नेपाल बन्दको घोषणा गरे । विप्लवका एक जना युवा नेतालाई इनकाउण्टरको नाममा पूर्वी नेपालमा सरकारले हत्या गरेपछि त्यसको विरोध स्वरुप यो बन्द आव्हान गरिएको हो भनेर विप्लवले बक्तब्य मार्फत भनेका थिए । र जसको परिणाम संघीय राजधानी काठमाण्डौ वरीपरी कै क्षेत्रहरुलाई आक्रमणको केन्द्र बनाएर उनको पार्टीले श्रृखंलावद्ध आक्रमण गरेर यो सरकारको सुरक्षामाथि नै गम्भीर चुनौती थपि दिएका छन् । तर यो बन्दमा उनकै पार्टीका कयौं होनहार युवाहरुको ज्यान गएको छ ।

विगतदेखि वर्तमानसम्म क्रान्ति के हो ? यो कसका लागि हो ? यो कसरी गर्ने भन्ने बारे उनको आफैंमा र पार्र्टीमा रहेको अस्पष्ट र गलत सोचको परिणाम उक्त क्षति भएको हुन सक्छ । विप्लव समूहले पहिलेदेखि नै भन्दै आएका थिए–’ हाम्रो पार्टीको आक्रमणको टार्गेट नेपालको कुनै पनि सुरक्षा निकाय (सेना, सशस्त्र र जनपद प्रहरी तथा सरकारको गुप्तचर निकाय) होइन । उनको यो भनाइ प्रति अन्य क्रान्तिकारी कम्युनिस्टहरुबाट प्रश्न उठने गरेका छन्– ‘यदि त्यसो हो भने यी सब बम, धमाका, हत्या र बलिादानहरु किन र कसका लागि हो ?’ किनभने भने माक्र्सवादीका लागि क्रान्तिका लागि दुश्मन शक्ति भनेको विद्यमान राज्य सत्ताहो र राज्य सत्ताभित्र सेना, प्रहरी, गुप्तचर निकाय र अदालत प्रमुख हो । हो अदालतले तत्कालका लागि स–साना पक्षहरुमा विप्लवको सरकार विरोधी हरेक कार्यमा साथ दिएकै छ । तर क्रान्तिका लागि विद्यमान सत्ताको एउटा हिस्सा अदालत सधै बाधक रहन्छ । प्रहरीले पक्डने तर अदालतले छाड्ने एक खालको नाटक अहिलेको मात्र विषय हो । समग्र क्रान्ति त आउने बांकी छ । अनि अदालतको सक्कली रुप देखिने छ ।

जेठ १३ को बन्दमा चार जना विप्लव पार्टीका जिम्मेवार युवा तथा विद्यार्थी नेताहरुको ज्यान गयो, जसमा कालीकोट र बझांग घर भएकाहरु छन् । यो बन्दपछि सरकारका प्रधानमन्त्री ओलीले भने– ‘ म त्यही आतंककारी समूहलाई सोधी राखेको छु, तिमीहरुको माग के हो ?’ यही सरकारका गृह मन्त्रीले संसदमा जवाफ दिने क्रममा भनीरहेका छन्– ‘यो दुखद घटनामा कोही पनि नेपाली नागरिक परेका छैनन् ?’ उनको भनाइको प्रतिवाद गर्दै भनियो– ‘त्यसो भए यी मर्नेहरु नागरिक नभएर को हुन् त ?’ । यो संसद भित्रको जुहारीले गृहमन्त्री र प्रधानमन्त्रीको विप्लवप्रति एक प्रकारको वौलाहट देखिन पुगेको छ । विगतको दशवर्से जनयुद्धका एक जना जनसेना कमाण्डर जनार्दन शर्मा भन्दै छन्–‘हिंसात्मक गतिविधि रोकेर चन्द समूहले ठोस रुपमा माग प्रस्तुत गर्नु पर्दछ । हामी सहजीकरण गर्दछौ ।’ यहां हामी भनेको को हुन् ?

यसरी विप्लव समूहका गतिविधिदेखि नेकपाभित्र एक खालको हलचल मच्चिएको छ । त्यो किनभने प्रथम उनीहरुलाई थाहा छ, त्यस भित्रका कार्यकर्ताहरु जो अहिले पार्टी र परिवर्तनबाट वेखवर भएर सडकमा छाडिएको अवस्था भौतारिरहेका छन्, उनीहरुको आक्रषण एक दिन विप्लव समूह बन्न सक्ने सम्भावना छ र दोस्रो विगतमा जे जसरी जनमुक्ति सेनाका जवानहरुलाई अयोग्य भनेर बेइज्जेतका साथ प्रचण्ड –बाबुरामले सडकमा भौतारिन वाध्य बनाएका छन्, तिनीहरुको अबको आकर्षण उक्त समूहका गतिविधि बन्न सक्छन् । साथै प्रचण्ड र बादलप्रति यो सरकारको सुरक्षा निकायमा एक खालको बदलावको भाव छ र त्यसका लागि उनीहरुले विप्लवका गतिविधिहरुलाई गम्भीरताका साथ लिएका छन् । किनभने उनीहरुलाई थाहा छ प्रथम विप्लवमा स्पष्ट राजनीतिक तथा वैचारिक धार छैन् । यो कुन खालको क्रान्ति हो ? कम्युनिस्ट क्रान्ति जसलाई सर्वहारावर्गी क्रान्ति भनिन्छ, त्यो त होइन, मध्यम वर्गको मुक्तिको कुरा गरेको छ । माओवादी पनि होइन किनभने विप्लवले माओवाद भन्न छाडेका मात्रै छैनन, बरु क्रान्ति र माओवाद शब्द जोडिएका सबै जवस र पार्टीबाट हटाएका छन्, हटाउदै छन् । जनवादी क्रान्ति त हु“दै होइन, किनभने उनले त्यसलाई वैज्ञानिक समाजवादी क्रान्ति भनेका छन् ।

यसरी सैद्धान्तिक, वैचारिक तथा कार्यदिशा गत अस्पष्टताका साथ सुरु गरिएको विप्लवको यो सैनिक संरचना आखिरमा के का लागि र यी कार्यकर्ताका त्याग, तपस्या र बलिदान किन र के का लागि भन्ने स्पष्ट नगरी विप्लवले सुरु गरेका यस्ता क्रियाकलापहरुले आखिरमा सर्वहारा क्रान्तिका लागि सकारात्मक भन्दा नकाराम्तक दिशातर्फ लैजाने शंका उठीरहेका छन् । हिजोको बन्दलाई सफल बनाउन (गाडि चल्न नदिएकोमा मात्रै सफल हो भन्ने हो भने) त्यति कामका लागि गतिविधि ठूलो संख्यामा आफ्ना होनहार कार्यकर्ताको मृत्यु विप्लवका लागि भावी पहलका लागि एउटा पाठ हुनुपर्छ किनभने यो बन्दले शत्रु कयाप्पमा खासै नोक्सानी नगरेर बरु जनताका बस, माइक्रो तथा अन्य यातायातका साधनमाथि आगलागि र तोडफोड भए, आफ्नै होनहार कार्यकर्ताको ज्यान गए । भन्न त सकिएला क्रान्ति भोजभतेर होइन, यसले केही बलिदानको माग गर्दछ । यो भनेर उन्मुक्ति भइहाल्ने अवस्था छैन विप्लवका लागि ।

नेपालमा अहिले कम्युनिस्टलाई हरेक क्षेत्रबाट बदनाम गराउने रणनीतिका साथ स्थापित यो कम्युनिस्ट नामधारीहरुको नेतृत्वमा सरकार गठित छ र यसले विप्लवको हरेक गलत कार्य तथा कमि कमजोरीलाई जनताको बीचमा क्रान्तिप्रति वितृष्णा फैलाउने कामका लागि उपयोग गरिरहेको छ । यो सही हो अहिले नेपालमा शासनमा रहेका र सरकारमा रहेर भ्रष्टाचारी तथा तष्करहरुबाट देशलाई बरबाद गराउन तम्सिएकाहरुका विरुद्ध के कस्तो रणनीति अपनाउने र यसका लागि विप्लवमा विद्यमान रहेको एक्ले बीरको उत्कट् चाहनाबाट उनी मुक्त भएर वर्तमानमा विद्यमान अन्य क्रान्तिकारी समूह तथा व्यक्तिहरुसितको सहकार्य अनिवार्य रहने छ । अनि मात्रै क्रान्तिकारीहरुको सामूहिक निर्णयप्रति जनताको साथ र सहयोग रहने छ । जसमा राष्ट्रवादीहरु, भ्रष्टाचार विरोधीहरु र तस्कर विरोधीहरुको एउटा संयुक्त मोर्चाको निर्माण आवश्यक छ । अबको आवश्यकता क्रान्तिकारीहरुको सामूहिक निर्णयप्रति जनताको साथ रहने क्रान्तिको निर्माणमा नै हो ।[email protected] -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here