विप्लवका छोरा प्रकाशको स्पष्टीकरण

280

काठमाडौं / विप्लव नेतृत्वका नेकपाका युवा नेता प्रकाश सिंह विप्लवको छोरा भएकै कारणले चर्चित बनेका छन् । सञ्चारमाध्यमहरूमा आफूहरूबारे भइरहेको भ्रमपूर्ण प्रचारबाजीप्रति दुःख व्यक्त गर्दै प्रकाशले स्पष्टीकरण सार्वजनिक गरेका छन् । सार्वजनिक जानकारीका लागि महत्वपूर्ण ठानेर यो स्पष्टीकरण जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ–

‘इतिहासमा नेपाल विभिन्न समयमा ठूला ठूला आन्दोलन, संघर्ष र बलिदानहरूबाट गुज्रिदै आएको विषय नयाँ होइन, विभिन्न कालखण्डमा आन्दोलन र संघर्षका रूप र त्यसले उठाएका मुद्दाहरू भिन्न भिन्न थिए र आज पनि पहिले भन्दा भिन्न नै छ । क्रान्ति एउटा यस्तो आँधी हो जसलाई रोक्न सक्ने हैसियत कोही पनि शासकसँग हुँदैन र अन्ततः यसले विजय र लक्ष्यलाई प्राप्त गर्दछ । क्रान्ति आफैमा यथास्थितिको क्रमभंग हो, यसले नयाँको सूत्रपात र पुरानोको विस्थापन गर्दछ साथै समयक्रमसँगै विकास हुदै जाँदा स्वतः विभिन्न रूपहरू धारण गर्दै जान्छ र सञ्चालन पद्दति र यसको वर्गसंघर्ष पनि नयाँ विषयसहित विकास हुँदै जान्छ । विश्वका विभिन्न सफल र असफल क्रान्तिको अध्ययन गर्दा यस्तो देखिएको पनि छ । जस्तो रुसमा मजदुरले, चीनमा किसानले, क्युबामा थोरै युवाहरूले क्रान्तिको सञ्चालन गर्दै सफलतासम्म पु¥याएका उदाहरण छन् । नेपालमा पनि किसानहरूको सहयोग र सहभागितामा दश वर्षसम्म क्रान्तिको ठूलो लहर आयो, तर गद्दार नेतृत्व कारणले गर्दा त्यो आज छिन्नभिन्न भएको छ । आज निकै दुःखका साथ भन्नुपर्छ नेपाल मात्र होला हजारौँको बलिदानसहित वयस्क लक्का जवान भएको क्रान्तिलाई दलाल नेतृत्वले एक झट्कामा चिहानघाट पु¥याएको छ र क्रान्ति शब्द उच्चारण गर्नेलाई समेत पुराना क्रान्तिकारी भन्नेहरूले अपराधी र आतंककारी घोषणा गरी जबर्जस्ती युद्धमा धकेलेर क्रान्तिकारी शक्तिलाई नै नामेट पार्ने अभियान सञ्चालन गरिएको छ । तर आज हामी गर्व गर्छौ दलालहरूले सिध्यायौं– सिद्धियो भनेर चिहानघाटमा फालेको क्रान्तिकारी शक्ति र क्रान्ति चिहानघाटबाट पुनः संगठित र सुसंगठित हुँदै नयाँ क्रान्तिकारी मालेमावादी विचार र मार्गदर्शनसहित विकास भइरहेको छ ।

हो, अहिले हामीले नयाँ मार्गदर्शन एकीकृत जनक्रान्तिमार्फत नेपालमा क्रान्तिलाई उठान गरेर विकास गर्दै गइरहेका छौं र हामी सफल हुदै पनि छौं । एकीकृत जनक्रान्तिको चित्र कोर्दै गर्दा आज हामीले उठाएको क्रान्तिकारी आन्दोलनको सञ्चालन पद्धति, यसको शक्ति र मुद्दालाई निकै समयसापेक्षित, वैज्ञानिक र माक्र्सवादी हिसाबले उठाएका छौं । मध्यमवर्ग वा बौद्धिक श्रमिकवर्ग (डाक्टर, नर्स, इन्जिनियर, पाइलट, लेक्चरर, प्रोफेसर, वकिल) र सर्वहारावर्गलाई जोडेका छौँ, साथै हाम्रा मुद्दाहरूमा अहिलेको सामाजिक दलाल पुँजीवादलाई जरैबाट फालेर वैज्ञानिक समाजवादको स्थापना गर्ने विषय उठाएका छौँ । जहाँ सबै अन्याय, अत्याचार, विभेद, श्रम शोषण, असमान सम्झौता, परनिर्भरता, माफियातन्त्र, दलालीकरणको अन्त्य हुनेछ, शिक्षा र स्वास्थ्यको निजीकरण र व्यापारीकरणको अन्त्य गरी यी र यस्ता अन्य आधारभूत अधिकारहरू नागरिकलाई राज्यद्वारा निःशुल्क र सहजतासहित समान किसिमले वितरण गरिने छ । अहिलेको हाम्रो पार्टी, संगठनको एउटा मात्र एजेण्डा निसंकोच ढंगले यो दलाल पुँजीवादले गरिरहेको राष्ट्रघाती सन्धि सम्झौता, भ्रष्टाचार र कालोबजारी, बलात्कार, मजदुर माथिको हरेक शोषण, महँगी, देशलाई विदेशीको गुलाम बनाउने सबै परिपाटीको बिरोध र कडा अनि निर्मम प्रतिवाद गर्नु नै हो र गरिरहेका छौँ । साथै यो विजयको दिशामा अगाडि बढिरहेको छ जसको बदलामा हामीले धेरै बलिदानीसहितको मूल्य चुकाएका पनि छौँ । यसका अरु सफलताका खातिर हामी अझै पनि जस्तोसुकै मूल्य र बलिदानी दिन तयार छौँ, त्यो बिषयमा कहिले पनि सम्झौता गरिने छैन । यसकै सिलसिलाका रूपमा दार्चुला, लिपुलेक, नवलपरासी, सुस्ता, एनसेल कर छुट प्रकरण, निर्मला बलात्कार र हत्या, वाइडबडी भ्रष्टाचार, अजय सुमार्गीलगायत धेरै दलालहरूका अर्बौ कालोधन, बालुवाटार प्रधानमन्त्री निवास जग्गा विक्री प्रकरण, शिक्षा र स्वास्थ्यको निजीकरण र व्यापारीकरण, असमान कोशी उच्च ड्याम, कोशी तेस्रो र माथिल्लो कर्णाली जलविद्युत सम्झौता, विचौलिया, दलाल र माफियातन्त्र, राष्ट्रिय उद्योग कलकारखानाको विक्रीलगायत तमाम राष्ट्रियता, जनजीविका र राष्ट्रिय सुरक्षासँग जोडिएका निकै गम्भीर विषयको उठान गर्दै यसको कडा विरोध र यस्का मतियार र नाइकेहरूसँग खरो प्रतिवादमा उत्रिएका छौं । सम्पूर्ण देशभक्त, राष्ट्रप्रेमी, सच्चा कम्युनिष्ट र लोकतन्त्रवादी शक्ति, वुद्धिजीवी, न्यायालय, सुरक्षा अंग, राष्ट्रसेवक कर्मचारी, विद्यार्थी, मजदुर र किसानहरूलाई विरोधमा मात्र सीमित नगरी अब विरोधलाई विद्रोहमा बदल्दै संघर्षमा उत्रिन आग्रह गर्दै सबैलाई गोलबद्ध गरिरहेका छौँ र यो निकै सकारात्मक देखिएको छ ।

आज म जुन धरातलमा उभिएर क्रान्ति र विद्रोहको कुरा र कल्पना गरिरहेको छु मलाई निकै आशा र विश्वास लागेको छ, म र हामी जस्ता लाखौं बौद्धिक श्रमिकले आज यो राज्य व्यवस्थामा वास्तविक शोषण, उत्पीडन र अत्याचारको कहालीलाग्दो पीडा भोगिरहेका छौं । पेशाले चिकित्सक भएता पनि हामी लाखौँ बौद्धिक मजदुरहरूको मनमस्तिष्कमा हामी माथि भएको थिचोमिचो, श्रम शोषण, विभिन्न असमानता लगायत दर्जनौं पीडा र आक्रोशले चरम सीमा नाघेको छ र यो वर्ग पनि अहिले ठूलो संख्या विभिन्न शैलीमा विरोध र प्रतिरोधमा हाम्रो क्रान्तिसँगै उभिएको छ । यस्ले निकट भविष्यमा यो क्रान्तिको आँधीबेहरीलाई सहयोग गर्दै अबका दिनमा बलिदानी र संचालन गर्ने हैसियत राख्नेछ, यो नै अहिलेको क्रान्तिकारी स्पिरिट र आवश्यकता हो ।

दलाल पुँजीपति फाँसीवाद विरुद्धको यो महासंग्राममा हामीले विभिन्न अप्ठ्याराका साथै घोषित–अघोषित युद्ध र प्रतिबन्धको सामना गर्दै आजका दिनसम्म आउँदा हामीले हाम्रो गौरवशाली संगठन जनमुक्ति सेनाका जुझारु र साहसिक कमान्डर कमरेडदेखि विद्यार्थीका आत्मीय सहयात्री कमरेड प्रज्वल लगायत दर्जनौको हाराहारीमा बलिदानी गरिसकेका छौँ, हो हिजोको बालापन जुन हिसाबले नेपालको दश वर्षे जनयुद्धको राप ताप, बम, गोली र बारुदसँगै हजारौं कमरेडहरूको रगतले लतपतिएको एक सरो लुगा र कठोर पीडाका साथ आँशुको भेलसहित गुज्रेको थियो, त्यसलाई भुल्न नपाउदै यो वयस्क अवस्था फेरि अर्को क्रान्तिकारी संघर्ष र संग्राममा मुक्ति या मृत्युको महान अभियानमा अगाडि बढेको छ । क्रान्तिका खातिर म र हामीजस्ता हजारौं न्यायप्रेमी, परिवर्तनकामी युवाहरूका लागि बलिदानी सिमलको भुवा जत्तिको गाह्रो विषय पनि होइन र हुनेछैन, यो त एउटा योद्धाका लागि सबै भन्दा ठुलो गर्वको विषय हुनेछ । आज दलाल फासीवादी सरकारले लगाएको प्रतिबन्धको चौतर्फी आलोचना र विरोध भएको छ र उस्को असफलता दिन प्रतिदिन बढ्दो क्रममा छ यसलाई ढाकछोप र डाइभर्ट गर्न सबै किसिमका अपराधीक हत्कन्डाहरू चलाएको छ, जस्तो हाम्रा नेताहरूलाई झुटो मुद्दा लगाएर पक्राउ गर्ने र दुःख दिने, दोहोरो भिडन्तको नाममा घरमा सुतिरहेको सामान्य शुभचिन्तकदेखि सामाजिक अभियानमा खटिएका जिम्मेवार नेताहरूलाई गोली हानी हत्या गर्ने, सार्वजनिक स्थलमा सामान्य हिडडुल गर्न नदिने, विद्यार्थीलाई पढ्न नदिने, शिक्षकलाई पढाउन नदिने, मजदुरलाई मजदुरी गर्ने ठाउँबाटै अपहरण गर्ने यावत विषयहरू । अझ निकै निच, तुच्छ र घटिया बिषय त केही दलालहरू र डलरवादीहरूको संरक्षण र संचालनमा रहेका केही अनलाइन न्यूज र केही भतुवा र लिच्चाहरूको झुण्डले बनाएका सामाजिक सञ्जालका केही समूहहरूले म्याउम्याउ गर्दै दुई÷तीन वर्ष अगाडि पार्किङमा राखिएको एउटा अन्जान अमुक हार्ले डेभिडसन बाइकमा बसेर खिचिएको फोटोकै आधारमा मात्र म र पार्टी नेतृत्वलाई जोडेर जसरी एउटा क्रान्तिकारी आन्दोलनलाई नै हमला गर्ने गरी विभिन्न समाचारहरू बनाएको छ र त्यसकै आधारमा आफूलाई निकै तर्क र तथ्यसंगत विश्लेषक ठान्ने मनुवाहरूले विभिन्न टिका टिप्पणी गरेको समेत देख्दा दलालहरूको यत्तिसम्मको कायरतापूर्ण तुच्छ र निच रूप पनि प्रष्ट भएको छ । अतः यी सबै विषयहरू आफ्ना असफलता र कूकर्मलाई ढाकछोप गरी क्रान्तिकारी वेगलाई अल्मलाउने षड्यन्त्र मात्र हो भन्ने कुरामा कुनै शंका छैन । तर यस्तो षड्यन्त्र गर्दाको नतिजा दलालका ती भतुवा पेशेवर टट्टूहरूलाई सही समयमा सही हिसाबले दिइने छ । तर दुई÷चार डलर पाउने आश र दुई÷चार वटा प्रलोभनमा परी क्रान्तिको झोक्कामा रन्थनिएका दलालहरूको तलुवा चटुवा भएर यस्ता कपोलकल्पित भ्रमपूर्ण विषय उठाएको देखेर ती दलाल र तिनका गासे कुकुरहरूप्रति दया लाग्छ, तर ती सबै फोहरका डंगुरहरू क्रान्तिकारी ज्वालामा खरानी हुनेछन् । क्रान्तिको यो विषम परिस्थितिमा आम नागरिकले हरेक विषयमा आफ्नो धारणा राख्दै गर्दा त्यसको गहिराइमा पुगेर मात्र विषय राख्दा त्यसको अर्थ रहन्छ, नत्र आफैलाई दुर्गन्धित गर्नु मात्र हुन्छ । खैर यी र यस्ता भ्रमपूर्ण बिषयले क्रान्तिको झण्डा अलिकति पनि डग्मगाउने छैन र यस्ता दुष्प्रयासपूर्ण जालझेल र हाम्रो उच्च बलिदानीले क्रान्तिमा ऊर्जा र गतिको संचार गर्नेछ । आज देश हामीले उठाएको एकीकृत जनक्रान्तिको बाटोमा गोलबद्ध भएको छ र दलाल फासीवादी सरकार आफ्नो हरेक असफलताबाट अत्तालिएर वार्तालगायतका अन्य थप भ्रमहरू लिएर अगाडि आएको छ, तर हामीले हाम्रा होनहार सहिद कमरेडहरूसँगै रातो टिका लगाएर र मुठ्ठी उठाएर कि त हामीलाई वैज्ञानिक समाजवाद मान्य छ कि त त्यसका खातिर हाम्रो बलिदान भन्ने सपथहरू हाम्रो ऊर्जा हुनेछन् र सधैँ हामी यही दिशामा अगाडि बढिरहने छौँ र । सहिदको सपना हरहालतमा पूरा गरी छाड्नेछौं, यही नै हामी हाम्रो अभिभारा ठान्दछौं । दश वर्षे जनयुद्धका दश हजार सहिद र एकीकृत जनक्रान्तिका दर्जन होनहार शहिदहरूको उच्च बलिदान र सपनाको सधै सम्मान गर्दै क्रान्तिको निरन्तर यात्रामा हामी पनि बलिदान गर्न कुनै कन्जुस्याइँ गर्ने छैनौँ, अन्तिम थोपा रगत र अन्तिम स्वास रहुन्जेलसम्म क्रान्तिको झण्डा फहराइरहनेछौं । सल्किंदै गरेको यो क्रान्तिको आगोलाई अब छिट्टै एकीकृत जनक्रान्तिमार्फत डरलाग्दो निर्णायक ज्वालामुखीमा बदल्ने छौं ।’ – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here