काठमाडौं / यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छन् । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको उक्त पदमा उनकी धर्मपत्नी चन्दालाई नयाँ पदभारको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।
पर्यटन र उड्डयन क्षेत्रमा रहेको शेर्पाको अर्बको व्यवसाय कसले सम्हाल्ने भन्ने विभिन्न धारणा बाहिर आएको थियो । यसअघि यति एडभेञ्चरकी प्रमुख रहेकी चन्दा शेर्पालाई कम्पनीले नयाँ जिम्मेवारी दिएको यति एयरलायन्सका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए ।
एयरलायन्सको कार्यकारी अध्यक्षमा लाक्पा सोनाम शेर्पालाई जिम्मेवारी दिइएको छ । उनी स्व.आङछिरिङका दाइ हुन् । कम्पनीको उपप्रबन्ध निर्देशकमा नोर्बुछिरिङ शेर्पा, यती समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाललाई नियुक्त गरिएको छ ।


















