प्रचण्डलाई ओलीको फेरि एक धक्का !

218

काठमाडौं / सत्तासीन पार्टी नेकपाको आन्तरिक राजनीतिमा व्यापक उतारचढाव देखापरेको छ । पार्टी एकीकरण भएको दुई वर्ष पुग्न लाग्दा समेत एकीकरणले पूर्णता पाउन नसकिरहेको हुँदा पार्टी संरचना तरल अवस्थाबीच गुज्रिएको छ । पार्टीका कार्यकर्ता र नेताहरू पद नपाएपछि विद्रोह गर्दै अन्य पार्टीमा प्रवेश गर्ने क्रम पनि बढेको छ । यस्तै गतिविधिबीच गुज्रिदै आएको पार्टीभित्र दुई अध्यक्षबीच आन्तरिक गुटबन्दीको प्रतिस्पर्धा चलिरहेको छ । प्रधानमन्त्री एवं सत्तासीन नेकपाका अध्यक्ष केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुन नयाँ दिल्ली गएको बेला नेपालको राजनीतिमा सत्ता परिवर्तनको विषयले निकै चर्चा पायो । मोदीको दोस्रो कार्यकालको सपथ ग्रहणमा ओलीलाई निम्ता आएपछि उनी अघील्लो साता नयाँ दिल्ली उडेका थिए ।

उनको एक दिने भारत भ्रमणका क्रममा उनकै दलका अर्का अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सत्ता सञ्चालनको सहमति भएको भन्दै एक वर्ष पछि आफू प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएका थिए । त्यति मात्र होइन उनले सरकारका काम कारबाही पनि सन्तोषजनक नभएको भन्दै यस विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । प्रचण्डको अभिव्यक्तिसँगै पूर्ण रूपमा एकीकरण नभएको नेकपामा तरंग आएको थियो । पूर्व एमाले र पूर्व माओवादीकाबीचमा समेत हिलो छ्यापाछ्यापको अवस्था सृजना भयो । राष्ट्रिय सञ्चार माध्यमदेखि नेकपाका नेताहरू समेत सत्ता परिवर्तनका विषयमा आ–आफ्नै ढंगले प्रस्तुत भए । स्थिति यस्तो भयो कि भारत भ्रमणमा गएका प्रम ओली स्वदेश नफर्कदै सत्ता ढल्ने हो कि जस्तो प्रचारबाजी समेत भयो ।

दुई तिहाई बहुमतको प्रधानमन्त्रीका रूपमा भारतीय समकक्षीको सपथ ग्रहणमा सहभागी हुन दिल्लीतर्फ लागेका ओलीलाई दिल्ली नपुग्दै दाहालले साइजमा ल्याउने प्रयास गरेका थिए । दाहालको अभिव्यक्ति पछि ओलीले दिल्लीबाटै व्यंग्य गर्दै अब आफू चार पाँच दिन मात्र प्रधानमन्त्री हुने हँस्यौली जवाफ दिएका थिए । सम्भवतः त्यो व्यंग्य नै प्रचण्डलाई साइजमा ल्याउने ओलीको लागि हतियार बन्यो । ओली नेपालमा आइपुग्दा नपुग्दै प्रचण्ड आफ्नो अभिव्यक्तिबाट पछि हटिसकेका थिए । उनले यो विषयमा मिडियालाई दोष लगाउँदै ओली पाँच वर्ष नै प्रधानमन्त्री बन्ने विचार सार्वजनिक गरिसकेका थिए ।

कतिपयले प्रचण्डको यो अभिव्यक्तिलाई दिल्लीमा उदाएका मोदीलाई नेपालमा ओली मात्र नभएर म पनि छु भन्ने सन्देश दिनका लागि गरेको फण्डा पनि भन्ने गर्छन् । किनभने ओली मोदीलाई भेटन भारत गएकै बेला प्रचण्डले सत्ता सहकार्यको कुरा गर्नुको कारण सत्ता साझेदारको एउटा पिल्लर म पनि हुँ भन्ने सन्देश दिन खोजेको कतिपयको बुझाई छ । तर प्रचण्डले गलत समयमा दिएको अभिव्यक्तिका कारण अन्तत उनी आफ्नै भनाईबाट पछि हट्न सफल भए । जसलाई कतिपयले प्रधानमन्त्रीले प्रचण्डलाई साइजमा ल्याउन सफल भएको रूपमा पनि अथ्र्याउने गरेका छन् ।

प्रधानमन्त्री ओलीले सत्ता सम्हालेको डेढ वर्ष पुग्दैछ । अहिले प्रचण्डले सत्ता साझेदारीको कुरा गर्नका लागि सत्ता हस्तान्तरणको समय पनि भएको थिएन । तर प्रचण्ड गलत समयमा बहकिनुको कारण ओलीका अगाडि उनी कमजोर हुन पुगेको कतिपयको विश्लेषण छ । सत्ता साझेदारीका लागि भएको भनिएको सहमतिको समय नजिक आउँदा वा समय सकिएपछि पनि ओलीले त्यसलाई पालना नगरेको अवस्थामा सद्भाव र शान्त्वना प्रचण्डसामु पनि जान सक्दथ्यो ।

त्यसमाथि दुई नेताकाबीचमा लिखित सम्झौता नै भएको भएपनि यो समय प्रचण्डले सत्तासञ्चालनको विषय उठाउने समय नै थिएन । तर प्रचण्डले यही समयमै यो विषय उठाएपछि स्थिर सरकारको बारेमा सोचेका आम जनताले समेत प्रचण्डलाई राजनीतिक अस्थिरता निम्त्याउने नेताका रूपमा अथ्र्याएका छन् । अरु त अरु प्रमुख प्रतिपक्षि दलका सांसद एवं चिन्तक प्रदीप गिरीले समेत संसदमा बोल्दै मुलुकको परिवर्तन भन्दा को व्यक्ति प्रधानमन्त्री हुने भन्ने कुरालाई बढि चासो दिएको भन्दै त्यसको आलोचना समेत गरे । पाँच वर्षे स्थायी सरकार बन्छ भनेर जनमत दिएका जनतामा समेत प्रचण्डको अभिव्यक्तिले पुनः अस्थिरता हुने हो कि भन्ने आशंका पैदा गरिदियो । अन्तत आफ्नो अभिव्यक्तिको शिकार प्रचण्ड नै बनेका छन् । ओलीले उनलाई लोप्पा खुवाउन सफल भएका छन् ।

हाल भइरहेको पार्टी एकीकरणको प्रक्रियामा पनि दाहालका विश्वास पात्र मानिने गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई ओलीले आफ्नो विश्वास पात्र बनाउन सफल भइसकेका छन् । पार्टीभित्र राजनीतिक जिम्मेवारी दिने विषयमा पनि ओलीले थापालाई महत्वपूर्ण जिम्मेवारी दिन चाहँदा दाहाल त्यसमा अवरोध खडा गर्न खोजिरहेका छन् । ओलीले थापालाई च्याप्न खोज्नुको कारण पनि दाहाललाई साइजमा ल्याउने रणनीति नै हो भन्ने कुरा स्पष्ट छ । जुन कुरा दाहालले चाल पाइसकेका कारण उनी आफ्ना सहकर्मीलाई रोकेर पूर्व एमालेबाटै जिम्मेवारी सुम्पिन खोजिरहेका छन् । आफ्नो अभिव्यक्तिको शिकार बनेका दाहाल राजनीतिक जिम्मेवारीका हिसाबले पनि ओलीले लोप्पा खुवाउन खोजेको बुझिरहेका छन् । यसले गर्दा दाहालमा भोलिको राजनीतिक भविश्यलाई कसरी अघी बढाउने भन्ने छटपटी समेत सुरु भएको दाहाल निकट स्रोतले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो गुटलाई बलियो बनाउने कसरतमा प्रचण्डलाई सजिलै उछिन्न सफल भएको पाइएको छ । बालुवाटारमा पार्टीका आन्तरिक बैठकहरू पटक–पटक बसिरहेका छन् । प्रचण्डले आफ्नो गुट बलियो बनाउन प्रयोग गर्न प्रयास गरेका नेताहरू माधव नेपाल , झलनाथ खनाल र बामदेव गौतमले केपी ओलीसंग कुटनीतिक प्रतिस्पर्धा गर्न नसक्ने पुष्टि भइसकेको देखिन्छ । सत्ता परिवर्तनलाई भन्दा राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्रको विकास र जनजीविकाको सवाललाई महत्व दिएर प्रचण्डले प्राथमिकताका साथ अभियान संचालन गरेका भए केपी ओलीको अवस्था पार्टीभित्र पनि कमजोर बन्न सक्ने अवस्था थियो । तर प्रधानमन्त्रीकै कुर्सीलाई मात्र महत्व दिएर प्रचण्डले आफ्नो राजनीतिक जीवनलाई नै जोखिममा पारेको विश्लेषण पनि विश्लेषकहरूले गरेका छन् ।

पार्टी एकीकरण र सत्ता साझेदारीको सवालमा ७० र ३० प्रतिशतको आधारमा भागबण्डा गरिनुपर्छ भन्ने आवाज पूर्व एमालेतर्फबाट चर्को रूपमा उठिरहेको छ । यदि यो प्रतिशत लागू भयो भने प्रचण्डले पार्टीको नेतृत्वमा पुग्ने सम्भावना बिल्कुलै कम देखिन्छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here