दाङ- उच्च अदालतले रिहा गरे लगत्तै घोराही बनगाउँका बीरवल शिक्षक ओलीलाई प्रहरीले अदालत परिसरबाट पुनः पक्राउ गरेको छ।
ओलीलाई प्रहरीले विप्लव नेतृत्वको शिक्षक संगठनको केन्द्रीय सदस्य रहेको आरोपमा पक्राउ हो ।
रोल्पाको एक प्राथमिक विद्यालयमा अध्यापन गराउने शिक्षक ओलीलाई जिल्ला प्रहरी कार्यालय दाङले गत चैत २४ गते घरबाटै पक्राउ गरेको थियो। स्थानीय प्रशासनले उनलाई शान्ति सुरक्षा विरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो। उनलाई जिल्ला प्रशासन कार्यालयले ७ हजार धरौटीमा वैशाख १८ गते छोड्न आदेश दियो।
उनलाई रिहा भए लगत्तै प्रहरीले दाङ देउखुरी जिल्ला अदालतको परिसरबाटै पुनः पक्राउ गरी रोल्पा प्रहरी कार्यालयमा जेल चलान गर्यो। सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुर, विष्फोटक पदार्थ विरुद्धको कसुर र राष्ट्रिय प्राकृतिक स्रोत साधन विरुद्धको कसुरमा उनलाई मुद्दा चलाइयो।
रोल्पा जिल्ला अदालतले जेठ १४ गते ओलीलाई निर्दोष ठहर गर्दै ३० हजार धरौटीमा छोड्न आदेश दियो। पुनः उनलाई पक्रेर प्यूठान लगियो। त्यहाँ उनलाई ७ दिने म्याद थपेर सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुर र सुरक्षाकर्मीलाई अभद्र व्यवहार गरेको भन्दै नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाइयो।
जेठ १९ गते गैरकानुनी थुनामा राख्न नपाइने भन्दै उनकी बहिनी कल्पनाले उच्च अदालत तुलसीपुरमा रिट हालिन्। जेठ १९ गते नै उच्च अदालतले बहसपछि प्रहरी कार्यालयलाई पत्र पठाउँदै ओलीलाई थुनामा राख्नुको कारण माग गरी बन्दीलाई उपस्थित गराउन भन्यो। बिहीबार ओलीलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो।
त्यसको सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश ईश्वर पोखरेलको ईजलासले गैरकानुनी रुपमा थुनामा राख्न नहुने भन्दै छोड्न आदेश दिएको थियो।


















