कोटेश्वर-कलंकी-भक्तपुर सडकमा सवारीसाधनको गति निर्धारण

136

भक्तपुर / महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्नका लागि सवारीसाधनको गति निर्धारण गरेको छ।

प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आजैदेखि लागू हुने गरी सवारीको गति निर्धारण गरेको बताउँदै अटेर गर्ने सवारी चालकलाई तत्कालै कारवाही गरिने जनाए । उनले भने, “आजबाट गति मापन गर्नेछौँ, शुरुमा केही दिन सवारी चालकलाई सम्झाउने छौं, असार १ गतेदेखि भने कारवाही अगाडि बढाउने छौं।”

दुर्घटना न्यूनीकरणका लागि जडीबुटी मनोहरापुलदेखि मध्यपुरथिमि, सूर्यविनायक, जगाती, पलासे हुँदै काभ्रे र भक्तपुरको सिमाना साँगासम्मका लागि गति निर्धारण गरिएको हो। प्रतिघण्टा २० किलोमिटरको गतिमा गुडेका सवारी साधनले ठक्कर नै दिए पनि मानवीय क्षति नहुने गरेको पाइएको तर तीव्र गतिमा चल्ने सवारी साधनले ठक्कर दिए ज्यानै जाने गरी मानवीय क्षति हुने गरेकाले गति सीमित गर्न यो नियम लागू गरेको उनको धारणा छ।

सडक, यातायात र विभिन्न सरोकारवाला निकायसँगको छलफल र सहमतिमा यो नियम लागू गरेको उनले बताए। सवारी साधनको गति मापनका लागि प्रहरीले एक राडार गन र एक लेजर गन ल्याएर परीक्षण गरिसकेको बताउँदै उनले यो सडकखण्डमा कुनै पनि बेला कुनै पनि ठाउँबाट सवारीको गति नाप्ने जनाए ।

नियमलाई अटेर गरी तीव्र गतिमा सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक अनुमतिपत्र, ‘रुट परमिट’ रद्द गर्नेदेखि यातायात सञ्चालन अनुमतिपत्रसमेत रद्द गर्न सकिने गरी कारवाही गरिने प्रधानले जानकारी दिए । अघिल्ला दिनमा कोटेश्वर—कलङ्की रुटमा गति मापनको ब्यवस्था गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here