यसरी हुँदैछ नेपालमाथि विदेशी आक्रमण

192

परम्परामाथि गर्न खोजिएको आक्रमणले जातीय द्धन्दलाई समेत उत्तेजित बनाउने सम्भावना 

काठमाडौं /  नेपालमा धार्मिक र जातीय द्धन्द गराउन विदेशी शक्तिहरुको चलखेल उत्कर्षमा पुगेको देखिन थालेको छ । धार्मिक द्धन्दका रुपमा क्रिश्चयन धर्मावलम्वीहरुको प्रचारप्रसार र धर्म परिवर्तनले पाइरहेको प्राथमिकताबाट अनुमान लगाउन सकिने भएको छ । नेपालको सनातन धर्मप्रति घृणा फैलाउने र क्रिश्चियन धर्मको प्रचारप्रसार गर्ने छुटकै लागि धर्म निरपेक्षता आएको हो भन्ने जस्ता प्रचार पनि सुन्न थालिएको छ । यो स्थितिले गर्दा नेपालका सनातन धर्मका अनुनायीहरु आक्रोशित बन्न पुगेका छन् । ठीक यसैबेला सरकारले नेपालमा परम्परागत रुपमा सञ्चालन हुँदै आएका धार्मिक मान्यतामा आधारित गुठीहरुमाथि आक्रमण सुरु गरेर आगोमा पेट्रोल खन्याउने काम गरिरहेको छ ।  गुठी सम्बन्धी विधेयक मार्फत धार्मिक मान्यताका गुठीहरुको अन्त्य गर्न लागिएको भन्दै काठमाडौं उपत्यकाका नेवार जातिहरु आन्दोलित भएका छन् ।  यसरी सनातन धर्म र परम्परामाथि गर्न खोजिएको आक्रमणले जातीय द्धन्दलाई समेत उत्तेजित बनाउने सम्भावना देखिएको छ ।

नेपाल अर्थात पूर्वीय दर्शन, संस्कृति र परम्पराको धनी मुलकको परिचय बनाएको देश हो  । हजारौँ वर्ष पुराना धार्मिक ग्रन्थमा समेत उल्लेख भएको नेपाल अमेरिका जस्ता मुलुकहरु पत्ता लाग्नुभन्दा पहिले नै व्यवस्थित शासन व्यवस्थाको अभ्यास गरिसकेको मुलुक हो । तर यो मुलुकको संस्कृतिमाथि अत्यन्त डरलाग्दो किसिमले आक्रमण सुरु भएको छ , र यो आक्रमणमा नेपालकै नेताहरु प्रयोग भइरहेका छन् ।

ज्ञानभूमि, शान्ति भूमी भनेर चिनिने नेपाल धार्मिक, सांस्कृतिक, सामाजिक, र आर्थिक रुपमा पनि पहिले देखि नै सक्षम, आत्मनिर्भर र आफ्नै मौलिकताबाट सुसज्जित थियो भन्ने कुरा ऐतिहासिक दस्तावेज र अभिलेखहरुले पुष्टि गर्छन् । प्राचिन, मध्यकाल हुँदै आधुनिककालसम्म आइपुग्दा पनि नेपाल आफ्नो गौरवपूर्ण  इतिहासबाट चुकेन बरु अझ नयाँ नयाँ इतिहास रच्दै गयो । विश्वलाई अंग्रेजले आफ्नो नियन्त्रणमा राख्न खोज्दा समेत अग्रेजसँग लडदै आफ्नो बर्चस्व कायम गर्ने नेपाल अहिले भने हरेक ढंगले विदेशीहरुको परेड खेल्ने मैदान बनेको छ ।

नेपालको आधुनिक इतिहाससँग पृथ्वीनारायण शाहको नाम नजोड्नु भनेको नेपालको इतिहासप्रतिको गद्धारी हो । पृथ्वी नारायण शाहले सयौँ वर्ष पहिले नै धर्म संस्कृति र परम्परामाथिको आक्रमण रोक्न प्रयास गरेका थिए । आज त्यही इतिहास, धर्म, संस्कृति र परम्परा जोगाएकै कारण उनी विदेशीको निरन्तर आक्रमणमा पर्दै आएका छन् । भौगोलिक एकताका सुत्रधार पृथ्वीनारायण शाहले नेपालको सांस्कृतिक र परम्परागत मूल्य मान्यतामाथिको अतिक्रमणलाई समेत रोकेर त्यसबेला सांस्कृतिक अतिक्रमणका लागि नेपाल पसेका इशाई पादरीहरुलाई नेपालबाट निकाला गरेका थिए । त्यसको बदला आज पनि पश्चिमाहरुले उनीसँग लिइरहेका छन् । वर्तमान अवस्थासम्म आइपुग्दा पृथ्वीनारायणसँग क्रोध गर्ने   विदेशीहरुले नेपाललाई समाप्त पार्ने खेलमा सफलता हासिल गर्दै गइरहेका छन् ।  पृथ्वीनारायण शाहले आफ्नो मौलिकता र परम्पराप्रति देखाएको मोहलाई नै भंग गराउन नेपालीहरुलाई नै पृथ्वी नारायणका विरुद्ध उतार्न विदेशी शक्तिहरु सफल भएका छन् ।

नेपालको एतिहासिक विशेषता भनेकै यहाँका धार्मिक, सांस्कृतिक र सामाजिक सम्पदा आफ्नै मौलिक शैलीका हुनु हो । नेपाल भन्ने बित्तिकै कसैले नोटिस गर्ने विषय भनेको सगरमाथा वा प्राकृतिक सुन्दरता मात्र होइन, यहाँको मौलिक कला, संस्कृति र परम्पराले पनि नेपालको छुट्टै परिचय दिएको छ । तर विगतमा मौलिकताका कारण चिनिने नेपाल अहिले आफ्नो मौलिकता यहीे हो भनेर भन्ने अवस्थामा समेत छैन । अब त कतिसम्म भइसक्यो भने नेपालको  मौलिक कला र संस्कृतिको आधारमा निर्माण हुने सम्पदासमेत  विदेशीले बनाइदिनु पर्ने अवस्था आएको छ । वि.सं २०७२ मा गएको भूकम्प पछि क्षति पुगेका तथा भत्किएका महत्वपूर्ण सम्पदाको निर्माणमा नेपालको मौलिक कला, संस्कृतिका आधारमा भन्दा पनि नेपालको मौलिकतालाई नै मास्न लागेकाहरुलाई जिम्मा लगाउने काम गरिएको छ । भूकम्पले क्षति पुगेका ऐतिहासिक सम्पदाहरु कुनै पनि नेपालले आफ्नो मौलिक ढंगले परम्परात कलाको प्रयोग गरेको पाइदैन । आफ्नौ इतिहास र मौलिकता निर्माणको जिम्मा विदेशी, त्यो पनि नेपालकै इतिहास मेट्न लागिपरेकाहरुलाई दिइएपछि कस्तो बन्ला ? आफै परिकल्पना गरौँ । अमेरिका भन्ने मुलुक पत्ता लाग्नुभन्दा पहिले आफ्नै मौलिक शैलीमा बनेको पाटन दरवार स्कवायर आज अमेरिकाले बनाइदिनुपर्ने अवस्था आएपछि धेरै कुरा भनिराख्नुपर्छ जस्तो लाग्दैन ।

आफ्नो मौलिक र ऐतिहासिक सम्पत्तिको रक्षा कसरी गर्ने भन्ने कुरासम्म जब विदेशीकै भर पर्नुपर्ने अवस्था आउँछ भने त्यसभन्दा ठूलो बिडम्बना अरु के हुन सक्छ ? यस्ता अरु पनि धेरै उदाहरण छन् , तर बिडम्बना ! यस्ता विषयमा नेपालले आफ्नो भूमिका गुमाउँदै गएको छ र सहयोगका नाममा नेपालको परम्परा, सस्ंकृति र इतिहासमाथि विस्तारै अरुले नै राज गर्ने र इतिहास मेटाउने काममा सफलता हासिल गरिरहेका छन् ।

धर्मकै कुरा गर्ने हो भने पनि नेपालको परम्परागत धर्मको नाममा रहेका विकृतिहरु हटाउनतर्फ लाग्नु उपयुक्त हुन्थ्यो । तर हिन्दू धर्मकै विरुद्धमा नयाँ धर्मको विस्तारलाई प्राथमिकतामा राखिएको छ । के नयाँ धर्म अर्थात क्रिश्चियन धर्ममा विकृतिहरु छैनन् ? यो पाटोतर्फ किन ध्यान पु¥याइदैन ? धार्मिक पहिचानमाििथको आक्रमण नै अहिले सबैभन्दा चूनौतिपूर्ण बन्दै गइरहेको छ । कुनै पनि मुलुकको आफ्नो परम्परा, संस्कृति, र धार्मिक मान्यताहरु हुन्छन् । जब मुलुककै शासकले आफ्नो परम्परागत मूल्य, मान्यता, र अभ्यासमाथि अरुलाई नै खेल्ने अवसर दिन्छ भने त्यसले मुलुकको इतिहासलाई कसरी सुरक्षित गर्न सक्ला ?

राजनीतिक हिसाबले नेपाल कसरी विदेशीको दास बन्दै गइरहेको छ भन्ने कुरा त घामजस्तै छर्लङ्ग नै छ । राजनीतिक एजेण्डा मात्र होइन, व्यवस्था र संरचनालाई समेत विदेशीकै दबाबमा खुसीसाथ संस्थागत गर्ने नेपाल नै पहिलो मुलुक होला ।    हो कतिपय मुलुकमा शक्ति मुलुकले जबरजस्ती आफ्ना एजेण्डा थोपर्ने र नमान्दा युद्धको अवस्था सिर्जना गर्ने अभ्यास देखिदै आएको हो । तर नेपालमा भने कथित राजनीतिक नेतृत्वका नाममा आफ्ना एजेण्डालाई स्थापित गराएर नेपालको मौलिकता र इतिहासलाई मेटाउने प्रयास भएका छन् । त्यसका लागि मुलुकलाई गृहयुद्धमा फसाउने तथा गलत कुरालाई सही हो भन्ने भ्रम फिजाउने काममा विदेशीहरु  सफल भएका छन् । जसको मतियार गिरीजाप्रजाद कोइराला, शेर बहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली, माधव नेपाल, रामचन्द्र पौडेल, कृष्ण सिटौला तथा सुवास नेम्वाङ जस्ता नेताहरु बन्न पुगे । नेपालको परम्परागत मूल्य मान्यतालाई नष्ट गर्न विदेशीको एजेन्टका रुपमा भूमिका खेल्ने उनीहरुलाई नै आज नेपाली जनताले नेता मान्नुपर्ने अवस्था सिर्जना भएको छ । अझै पनि जनताले यिनै नेताहरुबाट मुलुकको समृद्धि, विकास र सुशासनको सपना देख्न बाध्यता छ । जुन देशको राजनीतिक नेतृत्व आफ्नो मुलुकको इतिहास, संस्कृति र परम्परालाई नै डलरमा बेच्न तयार हुन्छ, त्यस्ता नेताबाट रुपान्तरण र परिवर्तनको अपेक्षा गर्नुभन्दा ठूलो मुर्खता अरु के हुन सक्छ ?  जसलाई मुलुकप्रति माया नै छैन त्यस्ता व्यक्तिलाई मुलुकको जिम्मा दिनु भनेको मुलुक बेच्न तयार हुनु नै हो ।

विगत केही वर्ष यता नेपाल एउटा मात्र हिसाबले आक्रमणको निशानामा परेको छैन, एकैपटक कैयौँ किसिमका आक्रमण नेपालभित्र भइरहेका छन् ।  विभिन्न राजनीतिक आन्दोलनको भेषमा भइरहेका यस्ता आक्रमणले मुलुक कहिल्यै उठ्न नसक्ने गरी ढल्ने अवस्थामा पुगेको छ । वर्तमान अवस्थामा नेपाल इतिहास, वर्तमान र भविष्यविहिन अवस्थामा छ । यो विदेशीको चाहनामा नेपालका देशद्रोही राजनीतिक दलका बुख्याँचाहरुका कारणबाट नै भएको हो । यस्तो अवस्थाबाट मुलुकलाई छुटकारा दिलाउन जतिसक्दो छिटो जनतामा जागरणको लहर ल्याउन आवश्यक छ । सत्तामा रहेका राजनीतिक दलका नेता र कार्यकर्ताहरुले समेत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका छन् ।  विद्रोहको अवस्था त्यहाँभित्र निर्माण भइसकेको छ ।  सत्ताबाहिर रहेका राजनीतिक दलहरुमा गम्भीरतापूर्वक छलफल र कार्यगत एकताको आवश्यकता देखिएको छ । –जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here