स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिको ६ महिना म्याद थप

125

बुटवल /  प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिको म्याद पुन: थप गरिएको छ । प्रदेश ५ को विशेष समितिको म्याद तेस्रोपटक ६ महिनाका लागि थपिएको छ ।प्रदेश ५ मा स्थायी राजधानी बुटवल कि दाङ भन्ने विवाद छ ।

संविधानमा प्रदेशको स्थायी राजधानी र नामकरण प्रदेशसभाले गरेअनुसार हुने उल्लेख छ । त्यसकै आधारमा प्रदेश ५ को प्रदेशसभा नियमावली, २०७४ संशोधनसहितको नियम १५२ अनुसार प्रदेशसभाको साउन २४ मा पहिलोपटक १५ सदस्यीय विशेष समिति बनाइएको थियो । समितिले समयमै काम गर्न नसकेपछि मंसिर २६ मा पहिलोपटक र फागुन २२ मा दोस्रोपटक ३र३ महिना म्याद थप गरिएको थियो । अहिले तेस्रोपटक६ महिनाका लागि थप गरिएको हो ।

समितिले प्रदेशका १२ वटै जिल्लामा पुगेर लिखित सुझाव संकलन गरेको छ । सुझाव विश्लेषण गरी तयार भएको प्रतिवेदलाई पुनः विशेषज्ञसँगको परामर्शपछि निष्कर्षमा पुग्ने भन्दै समितिले थप ६ महिना म्याद थप्न आग्रह गरेको थियो । बिहीबारको बैठकले म्याद थप्ने निर्णय गरेको हो ।

समितिका सभापति दीपेन्द्र पुनले अन्य धेरै प्रक्रिया सकिएको र विज्ञसँगको सुझाव लिने काम बाँकी रहेको बताए । ‘कार्यविधिमै जिल्लाको सुझाव र विज्ञको रायका आधारमा प्रतिवेदन तयार गर्ने भन्ने उल्लेख छ,’ उनले भने, ‘अहिले विज्ञसँग राय लिने काम भइरहेको छ ।’ विभिन्न क्षेत्रका विज्ञसँग छलफल गर्नुपर्ने भएकाले समितिले ६ महिना म्याद थप गर्न माग गरेको समिति सदस्य विष्णु पन्थीले जनाए ।

समितिले भूगोल, वातावरण, सुरक्षा, संस्कृतिविद् र मौसमविज्ञसँग छलफल गर्ने तयारी गरेको छ । अहिले त्रिभुवन विश्वविद्यालयका भूगोल र वातावरणविद्सँग छलफल गरिरहेको सभापति पुनले बताए । अबको ६ महिनाभित्र नै नाम र स्थायी राजधानीका लागि उपयुक्त स्थानको सिफारिस गर्ने गरी समितिले काम गरिरहेको उनले बताए । प्रदेश सरकारले आगामी वर्षका लागि प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि नाम र राजधानीको टुंगो लगाउने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here