जनकपुरधाम– जनकपुरका साधु सन्त र महन्थहरू पनि सरकारले ल्याएको गुठी विधेयक फिर्ता नगरे आन्दोलनमा उत्रने भएका छन्।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास ‘वैष्णव’ले सरकारले धर्म, संस्कृति र परम्परा समाप्त पार्न सरकारले गुठी विधेयक ल्याउन लागेको टिप्पणी गरे।
शुक्रबार पत्रकार सम्मेलन गरेर उनले गुठी विधेयक सरकारले फिर्ता नलिए देशमा प्रलय आउने चेतावनीसमेत दिए। उनले भने, ‘यस्तो प्रलय आउँछ कि सरकारले थाम्न सक्दैन।’
वैष्णवले भने, ‘सरकारलाई आग्रह गर्न चाहन्छु कि मठ मन्दिर कब्जा गर्ने विधेयक फिर्ता लियोस्। फिर्ता नलिए देश र प्रदेशमा धार्मिक प्रकोपद्वारा ठूलो क्षति हुन्छ।’
‘दाताहरूले सम्पत्ति न राजालाई दान गरेको छ, न कुनै सरकारलाई’, उनले भने, ‘यहाँका मठ मन्दिर पनि सरकारले बनाएको होइन। त्यसैले कब्जा गर्न मिल्दैन।’ सम्पत्ति गुठी संस्थानले कब्जा पहिल्यै गरिसकेको र अब साधु महन्थले बनाएको मठ मन्दिर पनि कब्जा गर्न खोजेको उनले थपे।
साधु सन्त तथा महन्थहरूले गुठी विधेयकविरुद्ध आन्दोलन गर्न संघर्ष समिति निर्माण गर्ने जनाएको छ। महन्थ वैष्णवले आजै संघर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी दिए। उनले पहिले प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकार मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र तर पनि विधेयक फिर्ता नभए सडक आन्दोलनसमेत गर्ने जानकारी दिए।
विगतमा मन्दिरका सारा सम्पति त सरकारले गुठी संस्थान खडा गरेर कब्जा गरेर र अहिले फेरी मठ मन्दिर पनि कब्जा गर्ने नियतले सरकार गुठी विधेयक ल्याउन लागेको आरोप महन्थहरुको छ।
पत्रकार सम्मेलनमा जनकपुरका दर्जनौं साधु सन्त तथा महन्थहरुको उपस्थिति थियो। उनीहरूे सरकारविरुद्ध आन्दोलनमा जाने जनाएका छन्।


















