एजेन्सी / कोपा अमेरिकाको समूहको ‘बी’ अन्तर्गत आइतबार राती अर्जेन्टिनासँग हुने खेलमा लियोनल मेसीदेखि त्रसित नभएको कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले जनाएका छन् । एसियन च्याम्पियन्स कतार इतिहाँस रच्दै क्वाटरफाइनल प्रवेश गर्ने साञ्चेजले दाबी गरेका छन्।
पाहुना टोली कतार १४ पटकको कोपा अमेरिका विजेता अर्जेनिटनासँग आइतबार राती भिड्दैछ। दुई खेल खेलिसकेका यी दुबै टोलीको समान १-१ अंक छ। दुबै टोलीलाई क्वाटर फाइनलमा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाब छ। आफ्ना पहिला दुई खेलबाट अर्जेन्टिना सन्तुष्ट छैन भने कतारका प्रशिक्षक साञ्चेजले सन्तुष्टी जनाएका छैनन्। जसरी पनि आजको खेल जित्दै क्वाटर फाइलन प्रवेश गर्न ढोका खुला राख्ने प्रशिक्षक साञ्चेजले दाबी गरेका छन्।
‘यो सत्य हो कि हामी साउथ अमेरिकामा त्यति प्रख्यात छैनौं। तर हामीसँग एकदमै व्यवसायिक खेलाडी छन्। हामी आफ्नो उदेश्य हाँसिल गर्न यहाँ आएको हौं। मेसीसँग सेल्फी खिच्न आएको होइनौं,’ कतारका प्रशिक्षक साञ्चेजले भने।
साञ्चेजले थपे, ‘उनीहरु पनि खेल जित्न योगय छन् । हामी आफ्नो लक्ष्य प्राप्तीका लागि कोसिसरत छौं। हामीसँग पनि अर्को चरण प्रवेशको सम्भावना उत्तिकै छ। उनीहरुसँग महान खेलाडीहरु छन्। तर यो तथ्य हो की हामी उनीहरुलाई हराउनै नसक्ने भन्ने होइन।’
सन् २०१८को विश्वकपछि मेसी गत मार्चबाट अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका थिए। तर उनको प्रवेश त्यति सुखद हुन सकेको छैन। आफ्नो पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग २-० ले पराजित भएको थियो। पाराग्वेसँग भने १-१ बराबरी खेलेको थियो। पेनाल्टीले नै पाराग्वेसँग बराबरी गर्ने मौका अर्जेन्टिनाले पाएको थियो। पाराग्वेले पाएको पेनाल्टी भने अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानीले रोकेपछि पाराग्वेसँगको हार अर्जेन्टिनाले टारेको थियो।
मेसीले जारी कोपा अमेरिकामा अहिलेसम्म एक गोल मात्रै गरेका छन्। त्यो पनि पेनाल्टीमार्फत्। साञ्चेजले कतार फुटबलको प्रशिक्षको रुपमा काम गरिरहेका छन्। उनकै नेतृत्वमा कतार एसिया कप समेत जितिसकेको छ। उनले कतार मेसीलाई रोक्न सक्षम रहेको बताएका छन्।
‘मेसी कुनै खेलमा निर्णयक बन्न सक्छन् । त्यो क्षमता उनीसँग छ। जो सुकै विपक्षी प्रशिक्षकले पनि मेसीलाई रोक्ने योजना बनाउँछ नै। यो भन्दैमा मेसीसँग कुनै जादुमयी सुत्र छ भन्ने होइन। यो सबै उनको खुट्टामा भर पर्ने कुरा हो’ साञ्चेजले थपे, ‘उनी बार्सिलोनाको टिम मिलेको युवा टोलीसँग खेल्छन्। यहाँ त्यस्तो नहुन सक्छ।’ तर जे भएपनि उनलाई रोक्न भने त्यति सहज छैन । तर हामी कोसिस भने गर्छौ । जुन हामी अर्को चरण प्रवेशका लागि महत्वपूर्ण पनि छ ।
नकआउट चरणमा नपुगे सबैभन्दा लज्जाको विषयः मेसी
मेसीले भने अर्जेनिटना क्वाटरफाइनल प्रवेश नगरे लज्जाको विषय हुने मेसीले भनेका छन् । लज्जाबाट केही राहत पाउन अर्जेन्टिनाले आइतबार हुने खेलमा पाहुना टोली कतारलाई जसरी पनि हराउनुपर्नेछ। बुधबार पाराग्वेसँग १(१ बराबरी खेलेपछि मेसीले भनेका थिए, ‘अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेन भने योभन्दा लज्जाको विषय अरु हुन सक्दैन। हामीले हाम्रो टिमको खुबीलाई हेर्नुपर्छ। तर हामीले हाम्रो लय पछ्याउन सकेका छैनौं।’
समूह बी मा कोलम्बिया ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। २ अंक जोडेको पाराग्वे दोस्रो र १-१ अंक जोडेका कतार र अर्जेन्टिना क्रमशः तेस्रो र चौथो स्थानमा छन्। कतारले पहिलो पटक कोपा अमेरिका प्रतियोगितामा भाग लिएको हो। नकआउट चरणमा प्रवेश गर्न नसकेका ३ समूहका उत्कृष्ट २ टिमलाई अर्को चरणमा प्रवेश गर्न मौका छ। जसकारण पनि अर्जेन्टिनाले कतारलाई हराउनैपर्छ। ‘हामी भाग्यमानी छौं र अझै जीवितै छौं,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने। कोपा अमेरिकामा भएका दुई खेलको प्रदर्शनबाट अहिले स्कालोनीको पनि चर्को आलोचना भइरहेको छ।
त्यसलाई बचाउ गर्दै स्कालोनीले भने, ‘मलाई आशा छ, अब हामी हाम्रो लय समात्छौं।’ एसियन च्याम्यिन्ससमेत रहेको कतारले अनुभव बटुल्दै कोपा अमेरिका खेलमा निखार ल्याउँदै गएको छ। जसकारण अर्जेन्टिनाले कतारसँगको खेल त्यति सहज हुने देखिँदैन। कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा पाराग्वेसँग २-० ले पछि परेको स्थितिसमेत उल्ट्याएर कतारले बराबरी खेलेको थियो। कोलिम्बयालाई समेत कडा चुनौती दिएको कतार १-० को झिनो गोल अन्तरले पराजित भएको थियो। जबकि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा कोलम्बियासँग २-० ले हारेको थियो। ‘मलाई विश्वास छ कि हामी समूह चरणको अन्तिम खेलमा जित निकाल्छौं,’ अर्जेन्टिनाका कप्तान मेसीले भनेका छन्।

















