काठमाडौं / सरकारले प्रतिबन्धित घोषणा गरेको विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा नेकपाले आहृवान गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकामा बिहानदेखि नै बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहानैदेखि नै सुनसान रहेका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन पनि प्रभावित भएको छ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, एकाधबाहेकका सवारी उपत्यकाबाट बाहिरिएका छैनन् ।
उपत्यकाको सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखानालगायतमा पनि बन्दको प्रभाव परेको छ । काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसहरु बन्द रहेका छन् ।
कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रस्त बनेको छ । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ । प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको थियो । यद्यपि बम भएको आशंकामा स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोलीले सो क्षेत्र वरपरको नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
विप्लव नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए ।


















