काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको जनाएका छन् ।
आइतबार राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ता र प्रतिपक्ष भनेको आवधिक भएको भन्दै विकासका लागि सरकार मिलेर अघि बढ्न तयार रहेको जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो’ ‘देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।’
प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितिको अन्त्य गर्नुपर्ने पनि जनाए ।
‘भावी सन्ततीलाई पनि यही गरिबीको स्थिति कायम राख्ने होइन । बेरोजगारीकै अवस्थामा राख्ने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो कार्यकाल टुङ्गिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउँछु ।’
प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसङ्ख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने जनाए ।


















