काठमाडौं– लेखक साहित्यकार तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले दसैंभत्ता माग्ने सांसदहरुप्रति कडा व्यङ्ग्य प्रहार गरेका छन् । संघीय सांसदहरुले कर्मचारीले सरह आफुहरुले पनि दसैंभत्ता पाउनुपर्ने माग राखेपछि संग्रौलाले ट्वीट गर्दै ती सांसदहरुमाथि प्रहार गरेका हुन् ।
उनले लेखेका छन्, ‘६ करोडको पाकेट खर्चले नपुगेर सांसद नामक अगस्तीले कर्मचारी सरह दसैं खर्च मागेछन् । माग्दै जाँदा यी मगन्तेले पेन्सन पनि माग्लान् । मति हेर्दा त मान्यवर यी लम्पट कान्जी हाउसमा थुनेर टन्न घाँस ख्वाइन लाइक छन् ।’
संसदीय क्षेत्र विकासको नाममा सांसदहरुलाई ६ करोड रुपैयाँ दिनेबारे यसअघि सामाजिक सञ्जालमा विरोध गरिएको थियो ।
सांसदले आफ्नो कार्यकर्ता पोस्याउनकै लागि रकम मागेको भन्दै विरोध गरिएको हो ।
समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाली कांग्रेसका युवा नेता गगन थापालगायत केही नेताले भने सांसदलाई बजेट दिन नहुने धारणा सार्वजनिक रुपमै राखेका थिए ।
तर प्रायः सांसद तथा नेताहरुले भने विभिन्न तर्क ल्याएर सांसदहरुलाई ६-६ करोड रुपैयाँ बजेट दिनुपर्ने जिकिर गरेका थिए ।


















