एजेन्सी / रुघाखोकी लाग्दा निस्कने एक किसिमको भाइरसका कारण क्यान्सरको जोखिम कम गराउने एक अध्ययनबाट पत्ता लागेको छ।
ब्रिटेनस्थित युनिभर्सिटी अफ सरीका अनुसन्धानकर्ताले गरेको अध्ययनले रुघाखोकी लाग्दा निस्कने भाइरसले मुत्रनलीको क्यान्सरको कोषलाई नष्ट गर्न सक्ने जनाइएको छ । उक्त अध्ययनका क्रममा एकजना बिरामीमा क्यान्सरको संकेत पूर्णरूपमा निर्मुल भएको र अन्य १४ जनामा क्यान्सरसम्बन्धी कोष मरेको पाइएको थियो। मुत्रथैलीसम्बन्धी क्यान्सरको क्षेत्रमा कार्यरत एउटा संस्थाले बृहत् अध्ययनबाट पनि यस्तै परिणाम आए त्यो निक्कै उत्साहप्रद हुने जनाइएको छ । ब्रिटेनमा हरेक वर्ष लगभग १० हजार एनएमआइबिसी भनिने मुत्रथैलीसम्बन्धी क्यान्सरका नयाँ बिरामी देखिने गर्छन् र त्यसलाई आम रूपमा देखिने क्यान्सरको सूचीमा दशौँ स्थानमा राखिएको छ। हाल मुत्रथैलीको क्यान्सरको उपचार पद्धती निक्कै कडा छ र त्यस विधिले गम्भीर र विषाक्त असरसमेत गर्ने गर्छ। निको भइसकेपछि पनि क्यान्सर दोहोरिएको छ कि छैन भनेर गरिने नियमित जाँचसमेत महँगो छ। यो उपचारका क्रममा १५ जना बिरामीलाई ट्युमर हटाउने शल्यक्रिया गर्नु एक हप्ताअघि क्यान्सरको जीवाणु मार्ने ‘सिभिए टु वानु नामक भाइरस ‘क्याथेटर’ पिसाब बाहिर निकाल्ने पाइपमार्फत दिइएको थियो। शल्यक्रियापछि तन्तुका नमुनाहरूको विश्लेषण गर्दा भाइरसले मुत्रथैलीमा रहेका क्यान्सरका कोषलाई निशाना बनाएको पाइएको थियो। ती कोषहरू मरेपछि भाइरसले आफूलाई विस्तार गर्दै अन्य क्यान्सर लागेका कोषलाई नष्ट बनाउँदै लगेको तर अरू कोषलाई जस्ताको त्यस्तै छाडिदिएको पाइएको थियो।
अनुसन्धान टोलीका प्रमुख प्राध्यापक हरदेव पाण्डाले भाइरसले जे गर्यो त्यो विशेष हो भनेका छन्। उनले भने, ‘भाइरसले क्यान्सरका कोषभित्र प्रवेश गरी त्यसलाई मार्ने क्रममा त्यहाँ प्रतिरोधी प्रोटिन निर्माण गर्छ। जसका कारण अरू निरोगी कोष ऊतिर आकर्षित हुन्छन् र जोडिन्छन्।’ उनका अनुसार साधारणतया मुत्रथैलीमा रहेका ट्युमर ‘चिसा’ हुन्छन्, किनभने तिनीसँग क्यान्सरसँग लड्ने प्रतिरोधी कोष हुँदैनन्। तर, भाइरसको गतिविधिले त्यसलाई ‘तातो’बनाउँछ जसले शरीरको प्रतिरोधी क्षमतालाई क्रियाशील बनाइदिन्छ। प्राध्यापक पाण्डाले छालाको क्यान्सरमा यसअघि नै उक्त भाइरसको परीक्षण गरिएको तर मुत्रथैलीको क्यान्सरमा पहिलो पटक अध्ययन गरिएको छ । अध्ययनका क्रममा बिरामीमा कुनै पनि किसिमको नकारात्मक प्रभाव नदेखिएको वैज्ञानिकको धारणा रहेको छ । उनका अनुसार अब रुघाखोकी निम्त्याउने उक्त भाइरसलाई निश्चित प्रकारको रोग प्रतिरोधी औषधिसहितको उपचार पद्धतिसँग मिसाएर थप बिरामीमा अध्ययन गर्ने योजना बनाइएको छ।


















