काठमाडौ, प्रहरीको कुटाइबाट नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई जना प्रहरीले शनिबार राती पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन्।
प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ। शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा–६ घर भएका ३० वर्षीय प्रहरी हबल्दार सनमसिं लामा र काभ्रे पनौती–७ बस्ने २८ वर्षीय प्रहरी जवान विकास स्याङतानले विनाकारण कुटपिट गरेका हुन्। अध्यक्ष कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ।

















